
मंगलवार , पौष ३, २०८०
बुटवल, ३ पुस ।
रुपन्देहीको बुटवल उपमहागरपालिका–१२ तामनगरमा रहेको बुद्ध टोल विकास संस्थाको १० औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । वि.सं.२०६१ मा स्थापना भएको सो टोल विकास संस्थाको साधारणसभाका अवशरमा टोलमा रहेका ८० वर्ष माथिका वृद्धाहरुलाई सम्मान समेत गरेको छ ।
पुर्वमा जानकी टोल विकास संस्था, पश्चिममा राजपुर टोल, दक्षिणमा सक्रिय टोल र उत्तरमा सिस्ने प्लेट टोल विकास संस्था रहेको बुद्ध टोल विकास संस्थाको १० औं साधारणसभामा बोल्ने वक्ताहरुले टोलमा भएको विकास र गतिविधिले समग्र वडा तथा नगरकै विकासमा प्रभाव पार्ने बताएका छन् ।
साधारणसभामा बोल्दै बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सरसफाई, हरियाली प्रर्वद्धन र मेलमिलापका लागि बुद्ध टोल विकास संस्थाले गरेको भूमिका वडा र नगरको विकासका लागि निकै महत्वपूर्ण रहेको बताए । आफ्ना टोल निवासी जेष्ठ नागरिकलाई गरेको सम्मान निकै महत्व रहेको बताउँदै नगरप्रमुख पाण्डेयले टोलमा विकासका साथै गृहणी महिलाहरुलाई सक्रिय र सीपमूलक बनाउन उपमहानगरले बिभिन्न योजनाहरु ल्याएको बताए ।
कार्यक्रममा वडा नम्वर १२ का वडा अध्यक्ष डिल्लीराज आचार्यले वडाको विकासमा टोलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले टोलमा रहेका सबै महिलाहरुलाई सीपमूलक बनाउनका लागि आफूले वडा तथा नगरस्तरीय सीप विकासका विभिन्न योजनाहरु अघि सारेको बताए ।
कार्यक्रममा पूूर्व वडाअध्यक्ष दुर्गा सुवेदी, चारपाल सामुदायिक वन उपभोक्ता संस्थाका जगत पौडेल, तामनगर राजपुर खानेपानी उपभोक्ता तथा सरसफाईका जितबहादुर राहाडी, तामनगर सिकाई केन्द्रका अध्यक्ष विजय कुवँर, देउराली कृषि सहकारी संस्थाका अध्यक्ष हरिहर उपाध्याय लगायतले बोल्दै टोलले गरेका हरेक क्रियाकलाप प्रशंसनीय रहेको बताए । टोलले महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरेको सीपमूलक कार्यक्रमले धेरैको आयआर्जनमा सुधार ल्याउने बताए ।
वार्षिक गतिविधि प्रस्तुत गदै महिला विकासका लागि टोलले विभिन्न किसिमका सीपमूलक कार्यक्रहरु सञ्चालन गरी सबै महिलाहरुको समान सहभागिता जनाई आर्थिक उपार्जनमा सबल बनाउन टोल सक्रिय रुपमा लागेको बुद्ध टोल विकास संस्थाकी अध्यक्ष शारदा सुवेदीको भनाइ छ ।
संस्थाका उपाध्यक्ष विष्णु खड्का क्षेत्रीको स्वागतमा भएको कार्यक्रममा महासचिवको प्रतिवेदन सुनिता गिरी र कोषध्यषको प्रतिवेदन दिपा थापाले प्रस्तुत गरेका थिए ।
२०६१ सालमा दर्ता भएको बुद्ध टोल विकास संस्थामा हाल घरधुरीको संख्या १ सय ६ रहेको छ । टोलमा मासिक रुपमा सदस्यहरुमा मासिक संकलन गर्ने, प्रत्येक महिनाको पहिलो शनिबार राजमार्ग र भित्री सडकहरु सरसफाई, सेनेटरी प्याड बनाउने तालिम, गुडिया तथा कुसन बनाउने तालिम, अगरबत्ती बनाउने तालिम लगायत सञ्चालन गर्दै आएको छ । सो अवसरमा टोल निवासी वृद्धवृद्धाहरुलाई सम्मान समेत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij