२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

रुपन्देहीका ७ स्थानीय तहका स्वास्थ्यकर्मीलाई  आधारभूत तालिम

शनिवार , पौष ७, २०८०

भैरहवा, ७ पुस ।

स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा खोप कार्यक्रममा संलग्न नयाँ स्वास्थ्यकर्मीहरुका लागि ४ दिने आधारभूत तालिम तथा स्वास्थ्य सरसफाई प्रवद्र्धन कार्यक्रम सुरु भएको छ ।

गैडहवा गाउँपालिकाको सुर्यपुरामा सुरु भएको तालिम कार्यक्रममा लुम्बिनी साँस्कृतिक र सैनामैना नगरपालिका, मायादेवी, गैडहवा, कञ्चन शुद्धोधन र सियारी गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत २५ जना नयाँ स्वास्थ्यकर्मीको सहभागीता छ ।

कार्यक्रमको उद्घाटन गर्दै जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले स्वास्थ्य पेशा एकदमै संवेदनशील तथा मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले तालिममा सिकाइने कुरा ध्यानपूर्वक ग्रहण गर्नुपर्ने बताए ।
कार्यक्रममा कार्यालयबाट सम्पादन हुने सबै खालका खोपका विषयमा सहभागीलाई जानकारी दिइने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत एवं तालिमका प्रशिक्षक भेषराज शर्माले बताए । ‘खोपका विषयमा कुन समयमा कुन खोप लगाउने साथै खोप लगाउन छुट भए कुन समयमा लगाउने, खोपको महत्व लगायत विविध विषयमा जानकारी हुनेछ, ’शर्माले भने  ।

कार्यक्रममा स्वास्थ्यसँगै जोडिएको स्वास्थ्य सरसफाई विषयको प्रवद्र्धनका बारेमा पनि प्रशिक्षण दिइने हुँदा कार्यक्रममा सिकेका कुराहरुमार्फत खोपकेन्द्रबाट प्रदान हुने सेवा प्रभावकारी हुने विश्वास रहेको कार्यक्रमका प्रशिक्षक समेत रहेका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए ।

कार्यक्रमका प्रशिक्षक चिन्तामणी ज्ञवालीले प्रशिक्षणमा प्रदान गरने सबै विषयवस्तुहरु ध्यानपूर्वक लिएमा खोप आफना कार्यालयबाट सम्पादन हुने खोप सेवाहरु एकदमै प्रभावकारी हुने र सेवाग्राहीहरु बढी लाभान्वित हुने बताए ।  समुदायमा कसरी खोप कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ र स्वास्थ्य सरसफाई समेतको जानकारी कार्यक्रमबाट हुने भएकाले प्रशिक्षार्थीलाई बढी फाइदा पुग्ने ज्ञवालीले जनाए ।

कार्यक्रममा ढकालसहित खोप अधिकृत भेषराज शर्मा, जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, र कोल्ड चेन निरीक्षक सुरेन्द्र द्विवेदी, खोप अधिकृत ज्ञवालीले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षण कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले यस किसिमको तालिमले नयाँ स्वास्थ्यकर्मीहरुको काम गर्ने दक्षता वृद्धि हुने बताए ।

05862dcb-bdea-4b38-987e-7d022055a9d8.jpeg

स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रको सञ्चालन खोप अधिकृत चिन्तामणि ज्ञवालीले गरेका थिए । कार्यक्रम आइतबार समापन हुनेछ ।