२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा कांग्रेस संस्थापनइतर पक्षको असन्तुष्टी

आइतवार , पौष ८, २०८०

भैरहवा, ८ पुस । 
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मन्त्रिपरिषद् विस्तारमा पार्टीभित्रको संस्थापन इतर समूहलाई नसमेटेको भन्दै उक्त समूहले तीव्र असन्तुष्टी जनाएएको छ । 

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसबाट प्युठानका रोज राणा भनिने सरोज थापा र नेकपा (माओवादी केन्द्र) बाट बाँकेकी कृष्णा केसीलाई शनिबार सांझ मन्त्री नियुक्त गरेका छन् । उनीहरुले आइतबार सपथ ग्रहण गरेका छन् । 
मुख्यमन्त्रीले पार्टीभित्रका समूह,भूगोल, सिनियारिटी र कार्यक्षमता नहेरी आफ्नो गुटका मान्छेलाई मन्त्री बनाएको भन्दै संस्थापन इतर समूह रुष्ट बनेको हो । 

मुख्यमन्त्रीले पार्टी प्रदेश कार्यसमितिसँग छलफल सल्लाह नगरी एकलौटी ढंगले अघि बढेको प्रदेश सभापति अमरसिंह पुनले बताए । ‘मुख्यमन्त्रीलाई पार्टी होइन गुट मात्रै चाहिएको देखियो, पार्टीलाई पाखा लगाएर कसरी सरकारले काम गर्छ भन्ने प्रश्न उब्जेको छ’ पुनले भने । 

पार्टी महामन्त्री विक्रम खनालले मुख्यमन्त्रीले पार्टीको प्रदेश समितिलाई वेवास्ता गरेर मनोमानी ढंगले मन्त्रिपरिषद विस्तार गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र यसबारे संसदीय बोर्डको बैठक बोलाएर मुख्यमन्त्रीसँग सोधिने बताए । 

‘मुख्यमन्त्रीले क्याबिनेट विस्तार गर्दा पार्टीसँग कुनै छलफल सल्लाह लिनुभएन, पार्टीभित्रको अर्को पक्षलाई समेट्नपर्छ भन्ने ठान्नुभएन र भूगोल, सिनियारिटी, कार्यक्षमता केही नहेरी गुट मात्रै हेर्नुभयो, यसमा पार्टी प्रदेश समिति गम्भरि बनेको छ’–महामन्त्री खनालले भने–‘ यी सबै कुरा संसदीय बोर्डको बैठकमा मुख्यमन्त्रीसँग सोध्छौं र आवश्यक निर्णय लिन्छौं ।’

यसअघि मन्त्रिमण्डलमा संस्थापन पक्षबाट मुख्यमन्त्रीसहित दाङका राजु खनाल मन्त्री छन् । 

लुम्बिनीमा तीनवटा मन्त्रालय खाली रहे पनि नेपाली कांग्रेस प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जना भन्दा बढी मन्त्री बनाउन नहुने निर्देशन दिएको छ । गत वैशाख १४ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक ८ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्ता साझेदार दलहरुको बीचमा सहमति कायम नहुँदा सरकार बनेको झण्डै ९ महिनासम्म पनि सरकारले पूर्णता पाउन सकेको थिएन  । 

मन्त्रिमण्डलमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का सन्तोष कुमार पाण्डेय गृहमन्त्री र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।