२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न सकेनन् : प्रधानमन्त्री प्रचण्ड

मंगलवार , पौष १०, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा माओपछि निकै ठूलो फेरबदल आएपनि मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका हुन् ।

उनले  मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले विकास, सेवा र सुशासनको क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको भन्दै आफ्नो कार्यकाल दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा ती क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने समेत बताउए । कामबाट परिणाम निकाल्नका लागि सरकार लागिरहेको भन्दै सिंहदरबारमा मन्त्रालय र सचिवहरूका कामलाई आफैंले समीक्षा र छलफल गरिरहेको उनको भनाइ थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीले चार महिनाका लागि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरूवात गरिने बताए ।