२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

दुई विधेयक पारित र दुई ऐन संशोधन गर्दै सकियो बुटवलको हिउँदे अधिवेशन

शुक्रवार , पौष १३, २०८०

बुटवल, १३ पुस । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको चौधौं नगरसभा अधिवेशन दुईवटा विधेयक पारित र दुईवटा ऐन संशोधन गर्दै सकिएको छ । नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

त्यस्तै सभाले नगर शिक्षा ऐन २०७४ र नगर स्वास्थ्य ऐन २०७५ संशोधन गरेको छ भने आवश्यकताअनुसार संगठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको उनले बताए । जसअनुसार शहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले शहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाईन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित भएको छ ।

बुटवलका २ वटा वडाहरु ११ र १३ मा जनसंख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्ने गरी पेश भएको प्रस्ताव बैठकले पारित गरेको छ ।

त्यस्तै, बैठकले कार्यपालिका बैठकबाट भएका निर्णयहरु अनुमोदन र विभिन्न प्रस्तावहरु पारित गरेको प्रमुख पाण्डेयले बताए । सभाले अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षका योजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन निर्देशन दिएको छ ।

बैठकले आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता तय गर्दै समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल शहरको परिकल्पनालाई आत्मसात् गर्ने र सोहीअनुसार नीति कार्यक्रम तय गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकमा बोल्दै प्रमुख पाण्डेयले बुटवल र बुटवलबासीको भविष्य उज्ज्वल बनाउनका लागि सबै जनप्रतिनिधिहरु एकवद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले बुटवलले विश्वास गरेर निर्वाचित भएको करिब २ वर्ष हुनै लाग्दा धेरै प्रतिवद्धताहरु पूरा हुने क्रममा रहेको बताए ।

प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताए । उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए ।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडीबुटी दिने, नगरबासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको बताए । उनले शिक्षा क्षेत्रमा बुटवललाई सधै अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको बताए ।

गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा विक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगरप्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने बताए ।

प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रीकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताए ।

बैठकमा बोल्दै नगर उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको समृद्धिका लागि सबैतिरबाट साथ र सहयोगको आवश्यकता रहने बताइन् । उनले नगरले तय गरेका लक्ष्य र उपलब्धि हासिल गर्दै अगाडि बढेको बताइन् ।