
आइतवार , माघ २५, २०७७
रुपन्देही, २५ माघ ।
महिलाहरुलाई शैक्षिक र आर्थिक हिसाबले सबल र सक्षम बनाउन सकेमा समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास एक कार्यक्रमका सहभागिहरुले गरेका छन् । परिवर्तित समय र व्यवस्थालाई आत्मसात गर्दै समाज रुपान्तरणको अभियानलाई थप सक्रिय बनाउन महिला पत्रकारको भूमिका महत्वपुर्ण हुने समेत उल्लेख गर्दै वक्ताहरुले सामाजिक अभियान्ताहरु अझ जागरुक बन्नुपर्ने आवश्यक्ता औंल्याए।
सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले संयुक्त रुपमा आयोजना गरेको सामाजिक अभियान्ता र पत्रकार महिलाबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्ने सहभागि वक्ताहरुले महिलाका साथै लैंगिक तथा यौनिक अल्पसंख्यकको मुद्दालाई बलियो बनाउन सामाजिक अभियन्ता अझै जागरुक हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णीकुमारी थारुले महिलाहरुको शैक्षिक विकास र आर्थिक रुपले आत्मनिर्भर नहुँदासम्म सधैँ पछाडि पर्ने बताउँदै उद्योग, पर्यटन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी बनाउनुपर्ने विचार व्यक्त गरिन् । महिला अधिकारको रक्षा र सशक्तिकरणको सवाललाई बलियो बनाउन सञ्चार संस्था र महिला पत्रकारको विशेष भूमिका रहने चर्चा गर्दै उपसभामुख थारुले सामाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यक्ता औंल्याइन् ।
आफु कम्लहरी हुँदा धेरै पीडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै कमैया मुक्तिको आन्दोलनमा होमिएको कुरा जानकारी गराउँदै उपसभामुख थारुले उक्त आन्दोलनको नेतृत्व गर्दै प्रदेशसभासम्मको यात्रा तय गरेको अनुभव सुनाइन् । संघर्षबाट पाठ सिकेर अगाडि बढेको अनुभव सुनाउँदै उपसभामुख थारुले प्रदेशसभाबाट लैंगिकमैत्री कानून बनाउन आफ्नो सक्रियता रहने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमूखी संस्थामा काम गर्दा समेत लैंगिकमैत्री वातावरण नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाउँदै नेतृत्व तहमा रहेका महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि अझै सकारात्मक हुन नसकेको बताइन् । गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले पितृसतात्मक सोच र व्यवहारका कारण सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरुले समस्या भोग्नु परेकाले सबै मिलेर सशक्त ढंगले आवाज उठाउनुपर्ने आवश्यक्ता औल्याइन् ।
सञ्चारिका समूह रुपन्देहीका सल्लाहकारहरु माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यवहार पनि फरक भएको बताउदै परिवर्तनका पक्षमा निरन्तर कलम चलाउनुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले समाज परिवर्तन, न्याय र अधिकारका लागि सञ्चारिकामा आबद्ध पत्रकार महिलाले निरन्तर कलमको माध्यमबाट आवाज उठाउँदै आएको उल्लेख गरेकी थिइन् ।
कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले हिंसा प्रभावित महिलाको न्याय र अधिकारका लागि काम गर्दा मानसिक रुपमा समेत पिरोलिनुपरेको अनुभव सुनाउँदै सञ्चार संस्थामा समाचार आएकै कारण पीडितलाई न्यायका लागि बल मिल्ने बताइन् । कार्यक्रममा साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले पत्रकार महिलाहरुका कारण यौनिक तथा अल्पसंख्यक समुदायका आवाज उठाउन सजिलो भएको बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूहका उपाध्यक्ष मिना ढकाल, सचिव अस्मिना पाण्डे, सामाजिक अभियान्ताहरु रिता सेन, राधा भट्टराई, रिमा बि.सी, रचना पन्त, जानकी घिमिरे, सरस्वती रिजाल लगायतले पत्रकारिता र सामाजिक क्षेत्रको सम्बन्धको चर्चा गर्दै समाज परिवर्तनका लागि सामाजिक अभियन्ता र पत्रकारहरु एक भएर लाग्नुपर्ने बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij