२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लोसपा केन्द्रीय सदस्य गुप्ता भन्छन् : उभिएर विरोध गर्नु अराजकता होइन

शनिवार , पौष १४, २०८०

भैरहवा, १४ पुस । 
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले कार्यक्रम चल्दाचल्दै उभिएर विरोध जनाएका छन् । शनिबार भैरहवामा पार्टीको प्रदेश अधिवेशनमा वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाह बोल्दाबोल्दै मञ्चमा बसेका गुप्ताले एकाएक उभिएर आफूले लगाएको खादा मुखमा बाँधें । 

nnk.jpg

लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, नेताहरु सन्दिप त्रिपाठी, गणेश पाल लगायतले उनलाई बस्न आग्रह गरे पनि गुप्ता मानेनन् ।

पार्टीमा लगानी गरेका कार्यकर्ताहरुको मूल्यांकन नभएको र तानाशाही प्रवृत्ति हावी भएको भन्दै उनी उभिरहे । गुप्ताले भने, ‘लोसपामा लोकतन्त्रको माग गर्दछु । उभिएर विरोध गर्नु अराजकता होइन । उनले जिम्मेवार पदमा बसेका व्यक्तिहरुले पार्टीमा सरसल्लाह नगरी एकलौटी ढंगबाट अघि बढेको बताए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य गुप्ताले पार्टीलाई मजबुत बनाउनुपर्छ भनेर लागे पनि पार्टीमा तानाशाही प्रवृत्ति हावी भएको आरोप लगाए । उनले आफू २०६३ सालदेखि नै मधेशका लागि लडिरहेको भन्दै पार्टीले कारवाही गरे पनि आफू नडराउने बताए । प्रदेश सम्मेलन पनि एकलौटी रुपमा गरिएको उनको आरोप छ ।

लोकतन्त्रमा विरोध गर्न पाउनुपर्ने बताउँदै उनी नबसेपछि केहीबेर कार्यक्रममा तनाव उत्पन्न भएको थियो । त्यसपछि मञ्चमा प्रहरी र कार्यकर्ताहरु पुगेका थिए । त्यसै क्रममा गुप्ता र केही नेता–कार्यकर्ताबीच चर्काचर्की समेत भएको थियो ।

vid.jpg

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लोसपाका केन्द्रिय वरिष्ठ सह–अध्यक्ष तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले कार्यक्रम बिथोल्ने प्रयास भएको बताए । उनले कार्यक्रम बिथोल्न प्रयास गर्ने तत्वलाई सतर्कताका साथ सफल हुन नदिइएको बताए । उनले भने, ‘अराजकता तथा अनुशासनहिनताले लोकतन्त्रलाई कमजोर पार्छ ।’ यद्द्पी उनले कसैको नाम भने लिएनन् ।

कार्यक्रमको सञ्चालकको भूमिका निर्वाह गरेका लोसपाका केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले कार्यक्रममा उपस्थित सबै ३५ जना केन्द्रीय सदस्यलाई बोल्न दिन नसकिएको बताए । उनले भने, ‘सौभाग्यले पार्टीको प्रदेश सम्मेलन भैरहवामा आयोजना गर्न पाएका छौं, प्रशान्तजी भनेको एउटा युवा नेता हो । उहाँले किन यस्तो गर्नुभयो । थाहा भएन । मेरै अगाडि पार्टीका रुपन्देही जिल्ला अध्यक्षले उहाँलाई कार्यक्रमको निमन्त्रणा दिन फोन गर्नुभएको थियो ।’