२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मायादेवी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाका लागि पाँचदिने तालिम

आइतवार , पौष १५, २०८०

भैरहवा, १५ पुस ।

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगर–३, रुपन्देहीको आयोजना तथा एजुकेटर्स विथआउट बोडर्स इन्टरनेशनलको सहयोगमा मायादेवी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चालित पाँचदिने तालिम सम्पन्न भएको छ ।

पुस १० गतेदेखि भैरहवामा सञ्चालित सामुदायिक स्वास्थ्य, प्राथमिक उपचार र आपतकालिन तयारीमा आधारित तालिम शनिबार सम्पन्न भएको हो । महिला स्वास्थ्य स्वयंसेविकालाई सामुदायिक स्वास्थ्य, स्वासप्रस्वाससम्बन्धि जानकारी तथा जनचेतना, खानेपानी, सरसफाई, स्वच्छता र आपतकालीन उपचारसम्बन्धी जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

तालिममा मायादेवी गाउँपालिकामा कार्यरत ३२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार तालिममा प्रमुख प्रशिक्षक एलिसा रिजाल, प्रशिक्षकद्वय गरिमा आत्रेय र सर्मिला शर्माले प्रशिक्षण दिएका थिए ।

तालिमको उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिनुपर्ने आवश्यक सेवासुविधा दिन नसकेको बेला प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले जिल्लाका १६ वटै स्थानीय तहमा रहेका स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । उनले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

त्यस्तै समापन कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले भने, ‘गाउँपालिकाले स्वयंसेविकाहरुलाई जुन स्तरमा परिचालन गर्नुपर्ने थियो, त्यो स्तरमा परिचालन गर्नका लागि स्रोतसाधन तालिमहरु गर्न नसकिरहेको परिवेशमा प्रतिष्ठानले स्वयंसेविकाहरुलाई प्रयोगात्मक शैलीमा प्रत्येक गाउँटोलमा पुग्ने गरी प्रभावकारी तालिम दिएको छ साथै यसप्रकारका कार्यक्रम गर्न पालिकालाई प्रेरित गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिन चाहन्छु ।’

WhatsApp Image 2023-12-31 at 12.19.05 PM.jpeg

तालिममा सहभागीको तर्फबाट बोल्दै गोमा कार्कीले यसप्रकारको तालिममा धेरै समयको अन्तरालपछि सहभागी हुन पाएको भन्दै प्रतिष्ठानलाई धन्यवाद बताइन् । उनले विगतमा तालिमहरुमा सहभागीता जनाए पनि यो तालिम र अन्य तालिमबीच आकाश-पातालको फरक रहेको बताइन् । उनले भनिन्, ‘यो तालिमले पुर्नताजगी र बन्द बाकस खुलेको अनुभुति गरेका छौं । यस्ता तालिमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।’

WhatsApp Image 2023-12-31 at 12.20.27 PM.jpeg