
बुधवार , पौष १८, २०८०
भैरहवा, १८ पुस ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले अमेरिकी रेडक्रसको सहयोग तथा सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा सिद्धार्थनगरमा सञ्चालन भइरहेको तातो हावाको लहर (लु) प्रतिकार्य कार्यक्रम सम्बन्धी गोष्ठी भैरहवामा सम्पन्न भएको छ ।
आगामी गर्मीयाममा सञ्चालन गरिने कार्यक्रम तथा गतिविधि सम्बन्धी छलफल तथा लु प्रतिकार्य कार्यदल गठन गरिएको छ । जसका लागि सिद्धार्थनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच समझदारी पत्रमा हस्ताक्षर भई दुवै पक्षबीच पत्र आदानप्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दिपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले तराईको गर्मीबाट बच्न वृक्षरोपण गरी हरियाली बनाउनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले सबै मिलेर गरेमा सम्भव भएको बताए । रेडक्रस रुपन्देही शाखाका उपसभापति रुपमा हिराचनको स्वागत मन्तव्य तथा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत यादवप्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस केन्द्रिय कार्यालय विपद् व्यवस्थापन विभागका कार्यक्रम संयोजक ललित खतिवडा, रेडक्रस बाँके जिल्ला शाखाका उपनिर्देशक र कार्यक्रम फोकलपर्सन दोलख बहादुर डांगीले सिकाइ आदान प्रदान सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
त्यसै गरी रेडक्रस रुपन्देही शाखाका वरिष्ठ अधिकृत तथा कार्यक्रम फोकलपर्सन कृष्ण मल्लले कार्यक्रमको प्रस्तुतीकरणसहित कार्यक्रममाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरक्षेत्रमा आगामी गर्मीयाममा सन्चालन गरिने तातो हावाको लहर लु प्रतिकार्य कार्यक्रम गतिविधिहरु समुदायस्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्न वातावरण तथा विपद व्यवस्थापन समिति सिद्धार्थनगर नगरपालिका संयोजक रहेको १५ सदस्यीय कार्यदल गठन भएको छ । जसमा विपद् फोकलपर्सन सदस्य सचिव यादव प्रसाद सापकोटा रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा, बिनामाया ज्ञवाली, सिद्धार्थनगर स्वास्थ्य शाखा प्रमुख, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख, योजना महाशाखा प्रमुख, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख वा अधिकृत स्तरको प्रतिनिधि, रुपन्देही जिल्ला प्रहरी प्रमुख वा प्रतिनिधि, जल तथा मौसम विज्ञान विभाग सिद्धार्थनगरका प्रमुख वा अधिकृतस्तरको प्रतिनिधि, भीम अस्पताल भैरहवाका प्रमुख वा चिकित्सक प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण सिद्धार्थनगरका प्रमुख वा अधिकृतस्तरको प्रतिनिधि, नेपाल खानेपानी संस्थान सिद्धार्थनगरका प्रमुख वा अधिकृतस्तरको प्रतिनिधि, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल सिद्धार्थनगरका प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा कार्यक्रम फोकलपर्सन रहेका छन् ।
त्यसै गरी सिद्धार्थनगर नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा कार्यदलको सचिवालयको रुपमा रहनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij