
बिहिवार , पौष १९, २०८०
काठमाडौं, १९ पुस ।
नेपाल कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्- ‘कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । हुन त यो श्रृंखला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको हो । ’
उनी लेख्छन् -कारण स्पष्ट छ : ‘सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले, एक–दुई सिटका लागि जे पनि हस् ? यदी यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’
संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्धामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्धामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव अधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधिनमा रहेर द्वन्दबाट पीडितहरुले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउनपर्ने कुरामा स्पष्ट हुनु जरुरी रहेको डा. कोइरालाको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय सभामा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि कांग्रेस नेता डा. कोइरालाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij