२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जनतालाई अधिकारसम्पन्न बनाउन संघीयताको पूर्ण कार्यान्वयन हुनुपर्छ : अध्यक्ष यादव

आइतवार , पौष २२, २०८०

भैरहवा, २२ पुस ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जनतालाई अधिकारसम्पन्न बनाउन संघीयताको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । उनले संघीयता पूर्ण रुपमा लागू हुन सके जनताले पूर्ण रुपमा अधिकार पाउने बताए ।

शनिबार भैरहवामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपाल लुम्बिनी प्रदेश समितिको भेला तथा पुनर्गठन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले जसपा विभिन्न उतारचढावका बीच यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘मुलुकको विकासका लागि युवाहरुको प्रतिनिधित्व आवश्यक छ, जसपामा युवाहरुको राम्रो सहभागीता छ । ’ जसपाविरुद्ध भ्रम फैलाइए पनि जसपा सबैलाई समेटेर अघि बढ्ने पार्टी भएको उनको भनाइ छ । 

जसपा संघीय परिषद् सदस्य समेत रहेका यादवले जसपाको अगुवाइ र नेतृत्वमा मुलुकमा संघीयताको स्थापना भएको दावी गरे । उनले मुलुकमा परिवर्तन हुनुमा पार्टी अध्यक्ष उपेन्द्र यादवको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । संघीयताविरुद्ध भ्रम फैलाइएको उनले बताए । जनताको अधिकारका लागि संघीय लोकतान्त्रिक गणतन्त्र अपरिहार्य रहेको उनले बताए । 

उनले पार्टीको संगठनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले भने, ‘संगठन र पार्टी मजबुत बने मात्र धेरैले अवसर पाउनुहुन्छ । एकजुट भएर अघि बढौं ।’

उनले रोहिणी गाउँपालिकामा धेरै राम्रा कामहरु भएको बताए । उनले भने, ‘जहाँ राम्रा काम हुन्छ, त्यहाँ विरोध पनि हुन्छ । ’