२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै विद्युत प्राधिकरण अगाडि धर्ना

आइतवार , पौष २२, २०८०

भैरहवा, २२ पुस । विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लाईन काटिएका उद्योगको विद्युत लाईन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा बन्द गरी विरोध सुरु गरेको जनाएका छन् ।

आन्दोलन अन्तर्गत आइतबार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिएका छन् । बुटवल–भैरहवा औद्योगिक सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुको नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रकलाइनको छुट बिलिङ गरेकाले कानूनसम्मत नरहेको ‘छुट बील’ को विरुद्ध कानूनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ ।

उद्योग र विद्युत प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा हाल विचाराधिन रहेकै अवस्थामा तिर्नै नपर्ने रकम असुल गर्न उद्योगहरुको विद्युत लाइन काट्न सुरु गरिएको उद्योगीहरुको आरोप छ ।

धर्ना कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ट्रकलाइन र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । विद्युत प्राधिकरणले सप्रमाण विद्युत प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार भए पनि प्रयोग नगरिएको विद्युतको शुल्न तिर्न नसकिने बताए । उनले उद्योगीहरुको आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यवद्धता रहेको बताए ।

dharna 55.jpg

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्राधिकरणले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको बताए । उनले विद्युत प्राधिकरणले उद्योगको मात्र नभइ थुप्रै श्रमिकको लाईन पनि काटेको बताए । उनले लाइन काट्नु भनेको श्रमिकको रोजगारीमा पनि लाइन काट्नु सरह हुने बताए । उनले प्रयोग नगरिएको कुराहरुमा पनि सेवा शुल्क लिन खोजको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई किन धरासायी बनाउन खोजेको भन्दै प्रश्न गरे । उनले उद्योगीले पैसा तिर्न नखोजेको भन्ने भ्रम फैलाइएको र यस्ता कुरामा कुनै सत्यता नरहेको बताए ।

Dharna 66.jpg

उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले भने, ‘जसले तिर्नुपर्ने हो, त्यसले तिर्ने र तिर्नु नपर्नेले तिर्दैन । तर, सबैलाई एउटा किसिमले व्यवहार गरेर लाईन काटिएको छ । ’ उनले लाईन काटिएका उद्योगको तत्काल लाइन जडान गर्न माग गरे । उनले समस्याको छिटो भन्दा छिटो समाधान गर्न आग्रह गरे ।

घराना फुड्स प्रा.लि.का सञ्चालक विकास गोयनकाले उद्योगहरु पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा लाईन काटेर के गर्न खोजिएको भन्दै प्रश्न गरे । उनले अहिले आन्दोलनमा कर्मचारीहरु आएको र आगामी दिनमा श्रमिक पनि सडकमा आउन बाध्य हुने बताए । सरकार मौन बसेको उनले आरोप लगाए ।

आइतबार उद्योगीले अदालतको फैसला नआउञ्जेल लाइन जडान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ‘नेपाल विद्युत प्राधिकरण भैरहवाले हाम्रो २ उद्योगहरुको  विद्युत लाइन २०८० मंसिर १३ मा काटेको कार्यबाट हामी  यस बुटवल भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरु स्तब्ध र त्रसित भएका छौं र यस कार्यको घोर भ्रत्सना गर्दछौं, ’ज्ञापनपत्रमा भनिएको छ ।

समस्या समाधान नभए तीनहजार बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्ने, देशमा मालवस्तुको अभाव सिर्जना हुने, राजस्व संकलन प्रभावित हुने लगायत विषयमा विद्युत प्राधिकरण स्वयं नै जिम्मेवार हुने ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले केही उद्योगहरुको लाइन काटिएको र लाइन जोड्न उद्योगबाट निवेदन आएको बताए । उनले कार्यालयमा आएका ज्ञानपनपत्रलाई तालुक कार्यालयमा पठाइएको र तालुक कार्यालयबाट आएको निर्णय उद्योगीलाई जानकारी गराइएको बताए ।

dharna 2.jpg
dharna 3.jpg
dharna 4.jpg