२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

छाडा चौपाया व्यवस्थापन गर्न सिद्धार्थनगरमा दोस्रोपटक अभियान सञ्चालन

शुक्रवार , पौष २७, २०८०

भैरहवा, २७ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले नगर क्षेत्रमा छाडा चौपाया (गाईगोरु) को नियन्त्रण तथा व्यवस्थापनका लागि दोस्रोपटक अभियान चलाएको गरेको छ । अभियान अन्तर्गत नगरमा छाडा अवस्थामा फेला परेका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ ।

छाडा गाईगोरुका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यकरण समेत असर परेपछि गत वर्षमा पनि पालिकाले अभियान चलाएर छाडा छाडिएका गाईगोरुको व्यवस्थापन गरेको थियो । तर, नगर क्षेत्रमा उही समस्या पुनः दोहोरिएको छ । जसलाई निर्मूल पार्न नगरपालिका कार्यालयलाई समेत समस्या भएको छ ।

‘नगर क्षेत्रबाट छाडा गाईगोरुको समस्या निर्मुल पार्ने उद्देश्य र विश्वासका साथ अभियान चलाएर गत वर्ष छाडा गाईगोरु नियन्त्रण तथा व्यवस्थापन गरेका थियौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘तर, जुन उद्देश्य र विश्वासका साथ हामीले अभियान चलाएका थियौं, त्यसमा (पशुपालक) लगायतबाट सहयोग भएन । जसअनुरुप नगरमा पुनः छाडा गाईगोरु छाडिए र फेरी दोस्रोपटक अभियान सञ्चालन गर्नुपरेको छ ।’

उनले व्यवस्थापन पश्चात पालिएका गाई गोरु पुनः छाडा नछाड्न र सचेत रहन नगरवासीहरुलाई आग्रह गरे ।
अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरबासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा छाडा चौपायाको समस्या देखिएको नगरपालिका कार्यालयले जनाएको छ । छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा, धानखेत लगायतमा नोक्सानी हुने गरेको छ ।

व्यवस्थापनका लागि नियन्त्रणमा लिइएका गाइगोरुलाई देवकोटाचोक नजिकै होल्डिङ सेन्टरमा जम्मा गर्ने गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । उनका अनुसार सेन्टरमा हालसम्म ४५ वटा छाडा गाई गोरु जम्मा गरिएको छ । होल्डिङ सेन्टरमा गाइगोरुलाई पशु चिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस, पराल खुवाएर राखिएको छ । यसका लागि नगरपालिकाले आफ्ना कर्मचारी र अन्य थप जनशक्तिको परिचालन गरेको छ । उनले नगरपालिका कार्यालयको यस अभियानमा नगरबासीहरुलाई सहभागी हुनका लागि आग्रह समेत गरिन् ।

418855416_336580542539393_503532115296577684_n.jpg

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले छाडा गाईगोरु नियन्त्रणका लागि नगरपालिका संवेदनशील भएर लागेको बताए । ‘नियन्त्रण तथा व्यवस्थापन गर्न सहज छैन’, उनले भने, ‘कतिपय मानिस किन मेरो गाइगोरुलाई छोपेको ? भन्दै नगरपालिकामा आएर झगडा गर्ने गर्छन् ।’

नियन्त्रणमा लिइएका छाडा गाईगोरुको गौसंरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।