२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका निरञ्जन थापाले लिए उम्मेदवारी फिर्ता

शनिवार , पौष २८, २०८०

रुपन्देही, २८ पुस । 
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले उम्मेदवारी फिर्ता लिएका हुन् । 

निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकाले अब लुम्बिनीमा ६ जना उम्मेदवार कायम रहेको छ ।  

राप्रपाबाट अन्य पदमा उम्मेदवारी दिएका थापाले निर्वाचनको मत आफू अनुकूल नदेखेपछि उम्मेदवारी फिर्ता लिएको बताए । राप्रपाले कसलाई मत दिने भन्ने विषयमा पार्टीले निर्णय गर्ने बताए । थापा पूर्व गृहमन्त्री तथा राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक समेत हुन् । 

लुम्बिनीमा राप्रपाको महिलातर्फ कपिलवस्तुकी विजय लक्ष्मी सिंहको उम्मेदवारी भने कायमै रहेको छ । महिला कलस्टरमार्फत् उम्मेदवार रहेकी सिंहको उम्मेदवारी भने कायम रहेको राप्रपाका सहायक महामन्त्री ताहिर अलीले जानकारी दिए । ‘निर्वाचनको मिति आउन अझै समय बाँकी छ’, अलीले भने, ‘अहिले हामीले कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गरेका छैनौं । निर्वाचन हुने बेलासम्म पार्टीले जे निर्देशन गर्छ, त्यहीअनुसार अघि बढछौं ।’

लुम्बिनीमा राप्रपाको २६९ मतभार छ । लुम्बिनीमा दुई पदका लागि निर्वाचन हुँदैछ । 

महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यबाट राप्रपाका थापाले उम्मेदवारी फिर्ता लिएपछि अब एमालेका उपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी, जनमत पार्टीबाट बाल गोविन्द चौधरी उम्मेदवार छन् ।

राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।  

शुक्रबार उम्मेदवारहरूले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका रहेको थियो ।