
मंगलवार , माघ २, २०८०
बुटवल, २ माघ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ । बुटवल उपमहानगरपालिका–१७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक डिभिजन कार्यालय, खानेपानी, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए ।
बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका थिए । बुटवलको तिनाउ पश्चिमको क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि उपमहानगरले थप ध्यान दिनुपर्ने बताए । उनीहरुले विकासका दृष्टिले तिनाउ पश्चिमको साविकको सेमलार र मोतीपूर पछाडि परेको भन्दै विशेष चासो दिन आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि दोस्रोपटक सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने बताए । ‘हामीले मोतीपुर र सेमलारको भावना के छ र कस्ता समस्या छन् भन्ने कुरा नजिकबाट थाहा पाउनका लागि मोतीपुरमै आएर कार्यक्रम गरेका हौं–उनले भने–यहाँहरुले राखेका प्रश्नहरुले हामीलाई नीति कार्यक्रममा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेमा थप बल पुगेको छ ।’
प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । उनले बुटवललाई आर्थिक केन्द्रका रुपमा मात्रै नभई मानव संशाधनको दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने मुख्य शहरका रुपमा स्थापित गर्ने दृढता व्यक्त गरे ।
‘बुटवललाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ, हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न प्रयत्नरत छौं’–उनले भने–निर्वाचित भएदेखि नै हामी सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं ।’
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध सहर बनाउनका लिग सबैको साथ जरुरी रहेको बताइन् । उनले नागरिक सचेत भएमा मात्रै विकासको खास अर्थ रहने भन्दै सार्वजनिक सरोकारका विषयमा र सार्वजनिक सम्पत्ति संरक्षणमा विशेष चासो दिन आग्रह गरिन् । उनले बजार अनुगमन र राजश्व संकलनमा विशेष जोड दिएको बताइन् ।
कार्यक्रममा उठेका विषयहरुमा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सहभागीका प्रश्न र सुझावहरुलाई विशेष प्राथमिकता दिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफूहरुलाई महत्वपूर्ण सुझावहरु आएको भन्दै उनले प्रशासनिक सुधार गर्ने गरी काम गर्ने आस्वाशन दिए ।
कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव रानाले सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउँदै बुटवललाई समृद्ध बनाउनका लागि प्रतिबद्ध भएको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफू जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
राज्य टेलिभिजनले समन्वय गरेको सार्वजनिक सुनुवाईमा १ सय भन्दा बढी सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट समेत तयार पारेर प्रस्तुत गरिएको थियो । सार्वजनिक सनुवाई कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघ–संस्थाका प्रतिनिधि गरी करिब २ सय जनाको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij