२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लुम्बिनीका सबै जिल्लाहरुको अधिवेशन जेठसम्म गर्ने एमालेको निर्णय

शुक्रवार , माघ ५, २०८०

रुपन्देही, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुको अधिवेशन फागुन महिनादेखि जेठसम्म गर्ने निर्णय गरेको छ । बिहीबार कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित नन्दनगरमा बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम सचिवालय बैठकले २०८१ जेठ महिनासम्म १२ वटै जिल्लाको अधिवेशन गर्ने अध्यक्ष राधाकृष्ण कंडेलले बताए । 

२०८० सम्मलाई सदस्यता नवीकरण गर्ने समय राख्ने निर्णय गरेको प्रदेश अध्यक्ष कंडेलले जानकारी दिए ।
बैठकले प्रदेश सल्लाहकार चयन, जेष्ठ कम्युनिष्ट मन्चको गठन र ३१ वटा विभागलाई पूर्णता दिएको र त्यो प्रस्ताव माघ १४ गते बस्ने पूर्ण बैठकले पास गरेपछि सार्वजनिक हुने उनले बताए ।

सचिवालय बैठकले माघभित्र सबै जिल्ला तहका र फागुनभित्र पालिका तहका प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने र फागुनदेखि जिल्ला अधिवेशन थाल्ने र जेठसम्म पूरा गरिने र आशन्न राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवार जिताउने रणनीतिका साथ लाग्ने निर्णय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री पद्मा अर्यालले निर्धारित समय तालिकामा पार्टीका सबै तहका कमिटीले कार्यसम्पादन पूरा गरेर नमूना प्रदेश बनाउने गरी लाग्न निर्देशन दिइन् । उनले सदस्यता नवीकरण, सबै तहका कमिटीलाई क्रियाशील बनाउँदै पार्टी केन्द्रले बनाएको रणनीतिअनुसार जिल्ला र स्थानीय तहको नेतृत्वसँग समन्वय गरेर जान आग्रह गरेकी थिइन् । 

बैठकमा पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, खेममान खड्का, नरुलाल चौधरी, ठाकुर गैरे, केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेलगायतले बोलेका थिए ।