
शनिवार , माघ ६, २०८०
बुटवल, ६ माघ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार झक्कु प्रसाद सुवेदीले आफूहरुको जीत निश्चित भएको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन जितेपश्चात प्रतिनिधि सभाले पास गरेका विधेयकहरु माथि गहन अध्ययन र छलफल गरी सुझाव सल्लाह दिने बताए । उनले पहिलो काम किसान, महिला, दलित, उत्पीडित वर्गको पक्षमा नीति निर्माण गर्ने र प्रदेशको समग्र विकासमा पनि अग्रसर हुने बताए ।
उनले भने, ‘लुम्बिनीका प्रतिनिधि भएर जनताको पक्षमा काम गर्न चाहन्छौ, विधेयकलाई वैज्ञानिक त बनाउँछौ नै समान खालको विकास निर्माणमा समेत जोड दिनेछौं ।’ आफूहरुको जीतको सुनिश्चित गर्ने गठबन्धन नै भएको भन्दै अहिलेको गठबन्धनले सुशासन कायम गर्ने, सामाजिक न्याय स्थापित गर्ने उनले बताए ।
फरक प्रसंगमा बोल्दै नेता सुवेदीले प्रचण्ड सधै सहमति र सहकार्यको पक्षधर रहेको बताउँदै गठबन्धनभित्र भएको सहमति हुबहु पालना हुने जिकिर गरे । उनले निर्वाचनका लागि मात्र गठबन्धन नभएको भन्दै प्रतिगमनविरुद्ध गठबन्धन बनेकोले यो लामो समय टिक्ने समेत बताए ।
त्यस्तै अर्का उम्मेदवार विष्णु कुमारी सापकोटाले आफूहरुको जीत सुनिश्चित भएको बताइन् । उनले राष्ट्रिय सभा निर्वाचनका मतदाताहरु नेतृत्व तहका हुने भएको हुँदा मत बदर नहुने र लुम्बिनी प्रदेशमा मतभार पनि बढी भएको कारण आफूहरुका जीत सुनिश्चित रहेको बताइन् ।
त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा प्रदेश चुनावी गठबन्धनका संयोजक अमरसिंह पुनले गठबन्धनमा भएको सहमति मतदाताहरुले अक्षरसः पालना गर्ने कुरामा कुनै शंका नरहेको बताए । त्यसका लागि गठबन्धनभित्रका दलहरु सचेत रहेर अगाडि बढेको उनले बताए । उनले सबै जिल्लामा उम्मेदवारहरुलाई परिचय गराउने काम अन्त्यतिर पुगेको बताए ।
सभापति पुले सिंगो गठबन्धनको मतभार ५६३९ रहेको र विपक्षमा ३९२५ मतभार रहेको हुँदा धेरै मतान्तरमा गठबन्धनको जीत हुने निश्चित रहेको दावी गरे ।
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij