
मंगलवार , श्रावण २०, २०७७
भैरहवा, २० साउन ।
गौतमबुद्ध मिडिया प्रा.लि.बाट प्रकाशित गौतमबुद्ध सन्देश दैनिक, अनलाइन र रेडियो रिपब्लिकलाई देशकै उत्कृष्ट सञ्चार संस्थाको रुपमा विकास गर्नुपर्नेमा प्रा.लि.का सञ्चालक तथा शेयरधनीहरुले जोड दिएका छन् ।
गौतमबुद्ध मिडियाको आयोजनामा सञ्चालक, शेयरधनी तथा कर्मचारीबीचको साक्षात्कार कार्यक्रममा सहभागीहरुले जिल्ला सदरमुकाम भैरहवामा दैनिक पत्रिका नियमित प्रकाशित हुनु आफैमा गौरवको कुरा भएको चर्चा गर्दै मिडिया हाउसलाई शान्ति, समृद्धि र सुशासनको संवाहकको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले नयाँ उर्जाका साथ मिडिया हाउस सञ्चालन गरिएको भए पनि आन्तरिक तथा बाह्य परिस्थितिले लक्ष्य अनुसार काम गर्न नसकिएको स्वीकार गर्दै व्यवस्थापकीय जिम्मेवारीमा हेरफेर गरी नयाँ उचाइमा पु¥याउने गरी काम गरिएको बताए । उनले सञ्चालक, शेयरधनी, पत्रकार तथा कर्मचारीको सामूहिक प्रयत्नबाट मात्र मिडिया हाउस सफल हुन सक्ने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।
मिडिया प्रा.लि.का सञ्चालक नारायण प्रसाद भण्डारीले बृहत्तर लक्ष्यका साथ अगाडि बढ्नका लागि सबै क्षेत्रको सहयोगको आवश्यकता रहेकोमा जोड दिए । भैरहवामा व्यवसायिक मिडिया हाउसको रुपमा पहिचान बनाउने गरी काम गर्न पत्रकार तथा कर्मचारीलाई आग्रह गर्दै उनले मिडिया हाउसलाई अझ बढी प्रभावकारी बनाउन कार्यकारी प्रमुखको नियुक्ति गरिएको जानकारी दिए ।
सञ्चालक तथा अधिकारकर्मी ज्ञानु पौड्यालले साक्षात्कार कार्यक्रमले मिडिया हाउसले लिएको लक्ष्य प्राप्तिका लागि उपलब्धिमूलक हुने दावी गरिन् । उनले टीमवर्कले कार्यक्रम सफल हुने हुँदा परिवर्तनको आशासहित सबै जना कटिबद्ध भएर लाग्नुपर्ने बताइन् ।
सञ्चालक नेत्र प्रसाद आचार्यले मिडिया हाउसलाई सफल पार्न लगानीकर्ताहरुको पनि दायित्व हुने बताए । उनले पत्रिका विज्ञापनले मात्र चल्ने भएकाले ग्राहक संख्या विस्तारसँगै विज्ञापनमा समेत जोड दिए ।
मिडिया प्रा.लि.का नवनियुक्त कार्यकारी प्रमुख गुनाराम घिमिरेले व्यक्ति भन्दा पनि संस्था र काम ठूलो भएकाले आफूले संस्थाको विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । पछिल्लो समयमा कोरोना महामारी र अन्य कारणबाट आर्थिक संकटमा गुज्रिनुपरेको अवस्थाबाट संस्थालाई देशकै अब्बल मिडिया हाउस बनाउन निश्चित योजनाका साथ आफूले पदबहाली गरेको जानकारी दिदै उनले सबै क्षेत्रबाट सहयोग र समन्वयको खाँचो औल्याए ।
कार्यक्रममा शेयरधनी शोभाकान्त नेपालले कतिपय महत्वपूर्ण जानकारीहरु समेत आम मानिसले सरह ढिलो पाइने गरेको गुनासो गर्दै शेयरधनीलाई आवश्यक पर्दा मात्र होइन अरु बेला पनि प्राथमिकता दिन आग्रह गरे । उनले अबदेखि गुनासो नआउने गरी काम गर्न सुझाए ।
शेयरधनी अनिल कुमार ज्ञवालीले भैरहवाको एक मात्र दैनिक पत्रिकालाई स्थायीत्व दिन र उत्कृष्ट बनाउन सबै खाले सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
शेयरधनी केशवराज ज्ञवालीले निश्चित प्रतिबद्धताका साथ नियुक्त कार्यकारी प्रमुखका सबै कदमलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
शेयरधनी शंकर ज्ञवालीले राजनीतिक दलले निर्वाचनका बेलामा उत्कृष्ट घोषणापत्र जारी गर्ने तर चुनावपछि हात लाग्यो शुन्य हुने अवस्था आउन नहुने उल्लेख गर्दै पत्रिकालाई बलियो र आत्मनिर्भर बनाउने गरी काम गर्न सुझाव दिए ।
शेयरधनी दिनेश पौड्यालले मुनाफा र सामाजिक दायित्व दुवै हुने गरी मिडिया हाउसलाई संचालन गर्नुपर्नेमा जोड दिए । उनले संस्थालाई सफल बनाउन ब्यवसायिक योजना बनाएर अघि बढ्नुपर्ने र संचार गृहमा समेत सुशासन हुनुपर्ने उल्लेख गरे ।
कोभिड–१९ महामारीको यस विषम परिस्थितिमा यसबाट प्रभावित उद्योगी, ब्यवसायी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी लगायत सबै आवाजबिहीनहरुको आवाज बुलन्द हुने गरी अन्तरक्रिया कार्यक्रम गर्न पनि पौड्यालले सुझाव दिए ।
शेयरधनी डा. ऋषिराम शर्माले चन्द्रमा छुने उद्देश्यका साथ काम गर्न र प्रतिष्पर्धामा अग्रस्थान हासिल गर्न पहल गर्नुपर्नेमा जोड दिदै त्यस खालका अभियानमा आफूले सधैं साथ दिने प्रतिवद्धता ब्यक्त गरे ।
शेयरधनी फैज अहमद खानले स्थानीय समाचारलाई सञ्चार माध्यमले उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले प्रशासन र सरकारका गलत कार्यको भण्डाफोर गर्न आग्रह गर्दै ब्यवसायिक पत्रकारिताको खाँचो औल्याए । मिडिया हाउसलाई मुनाफा हुने गरी सञ्चालन गर्न पनि उनले जोड दिए । शेयरधनी कमला थापाले पत्रिकाले शोषित पीडितका आवाजलाई उच्च प्राथमिकता दिनुपर्ने बताइन् ।
गौतमबुद्ध सन्देश पत्रिकाका सम्पादक कुलमणि ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक माधब न्यौपाने, चोपलाल आचार्य, रामचन्द्र रेग्मी, शेयरधनी धिरज कुमार मल्लिक, शेयरधनी तथा प्रबन्धक विष्णु भट्टराई, शेयरधनी तथा पत्रिकाका सह–सम्पादक रबिन्द्र प्रताप गुप्ता लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij