
मंगलवार , माघ ९, २०८०
काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाएको छ ।
मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताका मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सम्पन्न गरेको संकल्प यात्रामा स्थानीयहरुले माग गरेका विषय र आफूहरुको अध्ययन र अनुभवले देखाएका कुराहरु समेटेर ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको क्रममा अनुभुत गरेका यहाँका सम्भावना र चुनौतिहरु समेटेर ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको बताए । उनले जसमध्ये गण्डकीबाट १६१, कोशीबाट १७०, सुदूरपश्चिमबाट १३५, वागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५, मधेस प्रदेशबाट ८ वटा रहेको बताए । सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्य बढी माग रहेको बताए ।
उनले उद्योग, उर्जा, मोटरेबल पुल, सिंचाई, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातिय विभेद, छुवाछुत र हिंसाको बिरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनःनिर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषयहरु पनि जनताको प्राथमिकतामा रहेको बताए । पूर्वाधारका हिसावले मध्यपहाडमा धेरै कामहरु अघि बढेको र ठूलो सकारात्मक परिवर्तन ल्याएको, कृषि, फलफूल र पशुपालनका दृष्टिले उर्वर क्षेत्रका रुपमा मध्यपहाड रहेको बताए । उनले जलश्रोतको भण्डार भएको, पर्यटनको सम्भावना बढी भएको, खानी र खनिज रहेको हिसावले मध्यपहाड समृद्धिको सेन्टर बन्नसक्ने बताए ।
उपमहासचिव ज्ञवालीले मध्यपहाडी क्षेत्रमा आफूहरुले अभियानका क्रममा बसाईंसराईको समस्या ठूलो चुनौतिको रुपमा रहेको पाएको बताए । उनले बसाईंसराई रोक्नका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको पनि बताए। उनले वस्तुहरुको उत्पादन भएर पनि उचित मूल्य नपाएको देखिएको बताए । कृषि सामग्रीको उचित मूल्य निर्धारण, विचौलियाहरुको नियन्त्रण, विदेशी उत्पादनलाई कर लगाएर भएपनि स्वदेशी उत्पादन संरक्षण गर्नुपर्ने सरकारसँग माग गरिएको बताए । मध्यपहाडी क्षेत्रमा भूमिहिनहरु ठूलो संख्यामा रहेको, उर्जा नपाएका मानिसहरु ठूलो संख्यामा देखिएको र उनीहरुको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको बताए ।
बाँदर, बँदेल, दुम्सी जस्ता कारणले पनि खेतीपाती लगाउन मानिसहरु निरुत्साहित भएको बताए । जलवायु परिवर्तनले मध्यपहाडमा ठूलो असर पारेकाले सरकारले यसमा ठोस कदम चाल्न सुझाव दिएको बताए । उद्यमी व्यवसायी बैंकको ब्याजदर, कर प्रशासकहरुको अमैत्रीपूर्ण व्यवहार, भ्रष्टाचार, कुशासनले व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको कुरा पनि सरकारलाई ध्यानाकर्षण गराएको बताए।
उनले मध्यपहाडमा विकास निर्माणका कामहरु ठप्प रहेको र बजेट विनियोजनमा पूर्वाग्रह राखिएको पाइएको बताए । एमालेको नेतृत्वमा शुरु भएका केही रुपान्तरणकारी योजना असफल पार्न खोजिएको, आधारभुत अस्पताल लगायतका विषयमा ध्यानाकर्षण गराएको बताए । भूकम्पपछिको पुनः निर्माणमा सरकार असक्षम भएको र चिसोका कारण ३४ बढी भूकम्पपीडितको ज्यान जानु लज्जाको विषय भएको ठहर एमालेको रहेको बताए । मध्यपडाही लोकमार्गको विभिन्न ठाउँमा रिएलाइमेण्ट गर्नुपर्ने, १० वटा शहर बसाल्ने योजनाको काम अघि बढ्न नसकेको कुरा पनि सरकारलाई ध्यानाकर्षण गराएको बताए ।
ज्ञापन पत्र ग्रहण गरेसँगै प्रधानमन्त्री दाहालले यि विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको बताउनुभएको पनि उपमहासचिव ज्ञवालीले बताए । सुझावलाई दराजमा थन्क्याउने नभइ कार्यान्वयन गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको बताए । -न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij