२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सरकार आलोचित भयो, कांग्रेस सरकारमा झुण्डिरहन आवश्यक छैन : डा.संग्रौला

सोमवार , माघ १५, २०८०

बुटवल, १५ माघ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रिय सभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले सिंगो देशको राजनीति नै तरंगित भएको बताउँदै त्यो त्रुटीलाई सच्याउँदै गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिएकी छन् ।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले सोमबार रुपन्देहीको बुटवलमा गरेको साक्षात्कारमा बोल्दै केन्द्रीय सदस्य डा. संग्रौलाले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउने बताइन् । गठबन्धन जुन उद्देश्य र भावनाले अगाडी बढेको छ त्यहीअनुरुप व्यवहारमा कार्यान्वयन गर्न समेत उनले दलहरुलाई आग्रह गरिन् । ‘यतिबेला गठबन्धनको सरकार रहेको छ । गठबन्धनमा ईमान्दारीतापूर्वक काम नगरे संकटको अवस्था आउन सक्नेछ, ’उनले भनिन्, ‘कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ । यसलाई दोहोरिन नदिने गरिीकाम गर्न जरुरी छ । ’

सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौ अभियानको सिलसिलामा जिल्ला अभियानमा रहेकी डा. संग्रौलाले देशको राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउन कांग्रेसको विकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताइन् ।

उनले गठबनधनको सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने चेतावनी दिइन् । गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डिरहन आवश्यक नरहेको उनले सुझाव दिइन् ।

उनले पार्टीलाई बलियो बनाउनको लागि अभियान प्रभावकारी रहने बताउँदै अब पार्टी गुट–उपगुट भन्दा पनि एकढिक्का भएर अगाडि नबढे पार्टी कमजोर बन्ने दावी गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गरे । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने बताए ।

कार्यक्रम रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य विष्णु पोख्रेल लगायतको सहभागीता रहेको थियो ।