
मंगलवार , माघ १६, २०८०
रुपन्देही, १६ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले तीनदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही माघ २२, २३ र २४ गते जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एमाले रुपन्देहीले जनाएको छ ।
मंगलबार तिलोत्तमामा बसेको जिल्ला कमिटीको सचिवालय बैठकले पार्टी केन्द्रबाट प्राप्त अन्तरपार्टी निर्देशन अध्ययन गर्नुका साथै जिल्ला अधिवेशनका बारेमा समेत छलफल गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।
बैठकले जिल्ला अधिवेशन पार्टीका केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरुसँगको समन्वयमा तोक्ने निर्णय गर्दै आगामी फागुन र चैत महिनामा सदस्यता नवीकरण अभियानलाई अघि बढाउने निर्णय गरेको छ ।
त्यस्तै फागुनमा पालिका र वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एमाले जिल्ला सचिव यज्ञ गैरेले जानकारी दिए । बैठकले मुक्ति समाज रुपन्देहीको इञ्चार्जमा सुरेन्द्र श्री र प्रोग्रेसिभ इञ्जिनियर्स एशोसिएशन (पिन) रुपन्देहीको इञ्चार्जमा मेघदेव पन्तलाई मनोनित गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले नेता तथा रुपन्देही जिल्ला इञ्चार्ज दलबहादुर रानाले अन्तरपार्टी निर्देशन अनुसार काम कारवाहीलाई अघि बढाउन आग्रह गरे । उनले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै सत्तारुढ गठबन्धनका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको बताए ।
बैठकमा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरी, दधिराम न्यौपानेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij