२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

तत्काल मन्त्रीपरिषद् पुनर्गठन हुने सम्भावना छैन : मन्त्री गुरुङ

बुधवार , माघ १७, २०८०

रुपन्देही, १७ माघ । 
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । मन्त्रीहरुको पर्फोमन्सलाई लिएर लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले अहिले तत्काल मन्त्रीपरिषद्मा हेरफेर हुने अवस्था नरहेको स्पष्ट पारे ।

नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठीक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका थिए । 

मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताए । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरू भएको उनले बताए ।
मन्त्री गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको बताए । 

मैले प्रमुख तीन दलका तीन नेताहरूलाई नैं यो तपाईहरूको विषय हो भन्दै आएको छु,’ उनले भने, ‘यसमा केही विषयमा मात्रै मतभिन्नता छ । अब टुंगोमा पुग्नुपर्छ ।’ 

सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको उनले जानकारी दिए ।