२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धान्तबाट विचलित भएको छैन : सभामुख बिष्ट

मंगलवार , माघ २३, २०८०

विराटनगर, २३ माघ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसक्ने बताएका छन् ।

कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैल्याइएको भन्दै उनले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताएका हुन् । उनले आफू सभामुखमा सर्वसम्मत निर्वाचित भइसकेपछि संविधान बमोजिम पदिय दायित्वअनुसार काम गर्ने बताए ।

उनले प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्ने बताए । तर देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको बताए । उनले अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने दाबी गरे ।

सभामुख बिष्टले संसदीय समितिका सभापतिहरु चयन नभएकाले सभापति चयन गर्नेकुरामा र कानून निर्माण गर्ने कुरामा आफ्नो बढी ध्यान केन्द्रित हुने बताए । उनले संसदलाई नियमित रुपमा बिजनेस दिन सरकारलाई सजग गराइरहने बताए । सरकारले स्थायित्व पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने भन्दै स्थायित्व दिन आवश्यक रहेको सभामुख बिष्टले स्पष्ट पारे । —न्युज एजेन्सी नेपाल