बिहिवार , आश्विन १५, २०८३
भैरहवा, १५ असोज । लुम्बिनी बौद्ध विश्वविद्यालय (एलबीयू), छाया नेपाल (सीवाईएन) र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आईएसडीसी) बीच लुम्बिनी बौद्ध सर्किटको दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कसम्बन्धी आधारभूत अध्ययनका लागि त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भएको छ। बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौता भएको हो ।
विश्वविद्यालयका उपकुलपति डा. माणिक रत्न शाक्य, छाया नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आईएसडीसीेका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार इन्द्र प्रसाद काफ्ले, अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, केन्द्रीय क्याम्पस प्रमुख आचार्य दयानिधि गौतम, सहायक निर्देशक चुरामणि पोखरेल, आईएसडीसीकी बोर्ड सदस्य स्वाती थापा, धर्म बहादुर के.सी., छाया नेपालका कार्यक्रम प्रबन्धक राम महर्जन, परियोजना संयोजक सभ्या बेल्बासे लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै आईएसडीसीकी बोर्ड सदस्य स्वाती थापाले यस रणनीतिक साझेदारीले पर्यटन र अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौताअनुसार तीनवटै संस्थाले परियोजनाको संयुक्त योजना, कार्यान्वयन, अनुगमन तथा अध्ययनबाट प्राप्त ज्ञान र अनुसन्धानका निष्कर्षको प्रसारमा सहकार्य गर्नेछन्।अध्ययनमार्फत दिगो पर्यटन विकास र क्षेत्रीय सीमापार सम्पर्कलाई प्रभावकारी बनाउन आवश्यक तथ्य, नीति सुझाव तथा कार्यढाँचा तयार गरिनेछ।
परियोजनाअन्तर्गत अनुसन्धान विधि तथा कार्यान्वयन ढाँचा तयार गर्ने, स्थलगत अध्ययन गर्ने, सरोकारवालासँग परामर्श तथा तथ्यांक संकलन गर्ने, प्राप्त तथ्यांकको विश्लेषण गरी अनुसन्धान प्रतिवेदन तथा नीतिगत सुझाव तयार गर्ने कार्य गरिनेछ। सरकारी निकाय, विकास साझेदार, शैक्षिक संस्था तथा स्थानीय सरोकारवालासँग समन्वय गर्दै कार्यशाला, छलफल तथा ज्ञान आदानप्रदानका कार्यक्रम पनि सञ्चालन गरिनेछ।
परियोजनाको समग्र कार्यान्वयनका लागि तीनवटै संस्थाका एक–एक जना वरिष्ठ प्रतिनिधि रहने गरी क्ष्लInter-Institutional Steering Committee (IISC गठन गरिनेछ। समितिले परियोजनालाई रणनीतिक दिशा दिने, प्रगति समीक्षा गर्ने, प्रमुख योजना तथा प्रतिवेदन स्वीकृत गर्ने, कार्यान्वयनका समस्या समाधान गर्ने र गुणस्तर तथा लक्ष्यअनुसारको कार्यसम्पादन सुनिश्चित गर्नेछ।
आईएसडीसी परियोजनाको समन्वयकारी संस्था रहनेछ। यसले दैनिक व्यवस्थापन, अनुसन्धान गतिविधिको नेतृत्व (टीम लिडर) नियुक्ति तथा परिचालन, साझेदारबीच समन्वय र प्राविधिक तथा वित्तीय प्रगति विवरण तयार गर्ने जिम्मेवारी लिनेछ।
छाया नेपालको भैरहवा प्रदेश कार्यालय परियोजनाको समन्वय कार्यालयका रूपमा रहनेछ। यसले स्थानीय समन्वय, स्थलगत अनुसन्धानका लागि आवश्यक व्यवस्थापन, सरोकारवालासँगको समन्वय, बैठक व्यवस्थापन तथा प्रदेश र स्थानीय तहका सरकारी निकायसँग समन्वय गर्नेछ। छाया नेपालले परियोजनाका लागि १५ लाख रुपैयाँ आर्थिक योगदान गर्नेछ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले शैक्षिक नेतृत्व तथा प्राविधिक मार्गदर्शन प्रदान गर्नुका साथै अनुसन्धानको डिजाइन तथा विधि निर्माणमा सहयोग गर्नेछ। विश्वविद्यालयले आवश्यकताअनुसार प्राध्यापक तथा शैक्षिक विज्ञ परिचालन गर्ने र अनुसन्धानका प्रतिवेदन तथा अन्य सामग्रीको गुणस्तर परीक्षणमा सहभागीता जनाउनेछ।
परियोजनाअन्तर्गत उत्पादन हुने अनुसन्धान तथ्यांक, डाटाबेस, प्रतिवेदन, प्रकाशन, कार्यढाँचा, अनुसन्धान विधि, नीतिगत संक्षेप, प्रस्तुतीकरण तथा अन्य ज्ञान सामग्री तीनवटै साझेदार संस्थाको संयुक्त बौद्धिक सम्पत्ति हुने व्यवस्था गरिएको छ। कुनै पनि साझेदार संस्थाले अन्य साझेदारको पूर्वपरामर्श तथा लिखित सहमतिबिना संयुक्त रूपमा तयार भएका सामग्री प्रकाशन, हस्तान्तरण, व्यवसायिक प्रयोग वा अन्य प्रयोजनमा प्रयोग गर्न पाउने छैन।
सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू भइ सन् २०२७ को ३१ जुलाईसम्म कायम रहनेछ। आपसी लिखित सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
परियोजनाले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन, दिगो पर्यटन विकास तथा नेपाल–भारत सीमापार पर्यटन सम्पर्कलाई तथ्यमा आधारित ढंगले अध्ययन गरी भविष्यका नीति तथा योजनाका लागि उपयोगी आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
छाया नेपालले शिक्षा, स्वास्थ्य, वातावरण, महिला सशक्तिकरण, खानेपानी तथा सरसफाई क्षेत्र लगायतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष सृष्टि सिलवालले बताउनुभयो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij