२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा विरोधसभा गर्ने

बिहिवार , माघ २९, २०७७

बुटवल, २९ माघ ।
नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा विरोधसभा गर्ने भएको छ । कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले देशभर फरकफरक ढंगले विरोध प्रदर्शन गरिरहेको छ । 

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ । यता बुटवलमा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेको अध्यक्षतामा बैठक बसी ३ गतेको कार्यक्रम भव्य बनाउने निर्णय गरेको छ । पार्टी सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा भएको बैठकमा क्षेत्रीय सभापति हरि लम्साल, नगर सचिव ज्योति भण्डारी लगायतले बोलेका थिए ।

फागुन ३ गते भैरहवामा हुने विरोधसभामा बुटवलबाट उल्लासमय सहभागिता जनाउने निर्णय गरिएको सचिव भण्डारीले बताए । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा तथा शिर्ष नेताहरुको सहभागिता रहनेछ । कांग्रेसले फागुन ३ गते देशभरका ७७ जिल्ला कार्यसमितिहरुकोे नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ । यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।