२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

कला क्षेत्रको विकासका लागि एकता र सहकार्य आवश्यक रहेकोमा जोड

शनिवार , कार्तिक १, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, ३१ असोज । कला केवल रंग र रेखाको संयोजन मात्र नभइ समाजका विचार, भावना र यथार्थलाई अभिव्यक्त गर्ने सशक्त माध्यम हो । कलाको संरक्षण, प्रवद्र्धन तथा कलाकारबीचको एकतालाई मजबुत बनाउने उद्देश्यले नेपाल कमर्सियल आर्टिष्ट संघ रूपन्देहीले बडादशैं, दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा सहभागी कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कला क्षेत्रको विकासका लागि आपसी सहकार्य, एकता र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि नवलपरासी आर्टिष्ट संघका अध्यक्ष राजकुमार रेश्मीले समाजका विचार, भावना र यथार्थलाई स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नु नै कला भएको बताउनुभयो । कलाकारले आफ्ना सिर्जनामार्फत समाजको वास्तविकता उजागर गर्नुका साथै पर्यटन प्रवद्र्धन र सहरी सौन्दर्यीकरणमा समेत महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने उहाँको भनाइ थियो ।

    नेपाल कमर्सियल आर्टिष्ट संघ रूपन्देहीका अध्यक्ष दिलीप रसाइलीले कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरू छुट्टाछुट्टै अघि बढ्नुभन्दा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । कला क्षेत्रको विकास, कलाकारको हकहित संरक्षण र व्यावसायिक चुनौतीको सामना गर्न संस्थागत एकता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

    नेपाल फोटो पत्रकार महासंघ रूपन्देहीका जिल्ला अध्यक्ष मनोज क्षेत्रीले संघ–संस्थाले नियमित कामका अतिरिक्त सदस्यबीच आपसी सम्बन्ध सुदृढ बनाउने र क्षमता विकासमा सहयोग पुग्ने कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा कला क्षेत्रलाई व्यक्तिगत सीप र प्रतिभाको प्रदर्शनमा मात्र सीमित नराखी समाज र संस्कृतिसँग जोड्नुपर्ने धारणा व्यक्त गरिएको थियो । वक्ताहरूले कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै कलाकारको सीप, क्षमता र सिर्जनशीलता विकासका लागि सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने बताएका थिए ।

    कार्यक्रममा संघका उपाध्यक्ष मनोहर थापा, वरिष्ठ कलाकार शंकर शर्मा, सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम, संघका संस्थापक अध्यक्ष उज्ज्वल कुमार दे कायस्थलगायतले चाडपर्वको शुभकामना व्यक्त गर्नुभएको थियो । वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, भाइचारा र आत्मीयता बढाउनुका साथै कलाकारबीच सहकार्यको वातावरण निर्माण गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । कला क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

    नेपाल कमर्सियल आर्टिष्ट संघ रूपन्देहीका जिल्ला अध्यक्ष दिनेश मणिकुहारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव विसन गुरुङले गर्नुभएको थियो ।