
बिहिवार , माघ २५, २०८०
रुपन्देही, २५ माघ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवा सुरु भएको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उक्त कक्षको उद्घाटन गरेका छन् ।
परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले बताए ।
उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरू व्यवस्थापन गर्दै आएको बताए । अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी यस अस्पतालमा गर्दै आएको उनले बताए ।
उनले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताए । उनले जनताले अहिले विश्वास गर्ने अवस्था हुनु सकारात्मक रहेको बताए । मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानूनी अड्चन हटेको बताए । ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने मन्त्री खनालको भनाइ छ ।
मन्त्री खनालले मातृ र बाल मृत्युदर उच्च रहेको तथ्यांक रहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पीआईसीयूले मृत्युदर घटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद गिरीले सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सिर्जना गर्न निर्देशन दिए ।
लुम्बिनी प्रादेशिक अस्पतालका बालरोग विभाग प्रमुख डा. किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसार मा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताए । उनले लुम्बिनी प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेको बताए । डा. पौडेलले गुणस्तरीय सेवा प्रदान गर्न कुनै कमजोरी नहुने बताए ।
कार्यक्रममा अस्पतालका प्रसूति विभाग प्रमुख डा. भक्त बस्य (बिबि) राउतले सरकारले गर्भवती सेवा सरकारी अस्पतालमा निःशुल्क गरेपछि जनताको भिड बढेको अवस्थामा यसको आवश्यकतामा ध्यान नदिएको भए पनि पछिल्लो समय यसको आवश्यकतालाई महसुस गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताए । उनले यो सुविधा थप्दा जनशक्ति थपिने भएकोले यसले सुरक्षित डेलिभरीलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपालभरकै तेस्रो अस्पतालको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु गरिएको उनले बताए । नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउनका लागि यो प्रभावकारी हुने विश्वास डा. राउतले विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तारसँगै गुणस्तरीय सेवा दिनुपर्ने बताए । उनले सरकारले आवश्यक स्वास्थ्यकर्मी तथा बजेटको लागि मन्त्रालयले सक्दो सहयोग गरिरहेको बताए । अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij