२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थनगरमा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

आइतवार , फाल्गुण ६, २०८०

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, ६ फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सिद्धार्थनगरका युवा लक्षित वर्गलाई सरकारी सेवामा आर्कषण र मानव संशाधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

    कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परिक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिकाका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए । उनका अनुसार फागुन १ गतेदेखि चैत ३० गतेसम्म कक्षा सञ्चालन हुनेछ ।

    नायब सुब्बा (नासु) पदको तयारी कक्षामा सहभागी हुन ६१ जनाको आवेदन परेकोमा सबैलाई कक्षामा सहभागी गराइएको उनले बताए ।

    दुई महिनासम्म सञ्चालन हुने तयारी कक्षाका लागि जिल्लाभित्रका सरकारी निकायमा कार्यरत कर्मचारी प्रशिक्षकमार्फत कक्षा सञ्चालन गरिएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

    शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरबासीहरुका लागि तयारी कक्षा फलदायी देखिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन् ।

    सिद्धार्थनगर नगरपालिकाले जनमुखीहरु कार्यहरु गर्दै आएको छ । ‘भौतिक पूर्वाधारको विकाससँगसँगै मानव संशाधनको विकास पनि अपिहार्य छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘गत वर्ष सञ्चालन गरिएको तयारी कक्षाका लागि नगरबासीको आर्कषण देखिएपछि यस वर्ष पनि कक्षा सञ्चालन गरेका हौँ ।’

    गत वर्ष पनि निःशुल्क लोकसेवा तयारी कक्षाका लागि मागभन्दा बढी आवेदन परेपछि चालु आर्थिक वर्षमा विगतको वर्षको मागलाई मध्यनजर गर्दै चाल् आ.वमा खरीदार पदको लागि पनि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।