२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रुपन्देहीमा ३ लाख बढी बालबालिकालाई दादुरा–रूबेला खोप लगाइँदै

बुधवार , फाल्गुण ९, २०८०

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, ९ फागुन ।
    रुपन्देहीमा ९ महिनादेखि १५ वर्षमुनीका ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन १३ देखि १७ सम्म ९ वटा पालिका तथा फागुन २० देखि २४ गतेसम्म ७ पालिकामा गरी दुई चरणमा बालबालिकालाई खोप लगाइने भएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा दादुरा–रूबेलाविरुद्धको खोप लगाइने बताए । त्यस्तै दोस्रो चरणमा सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने उनले जानकारी दिए ।

    ‘जिल्लाका ९ वटा पालिकामा फागुन १३ गते अभियान सुरु गर्ने योजना बनाएका छौं’, प्रमुख ढकालले भने, ‘यसका लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्नेे काम भइसकेको छ ।’ नियमित खोप कार्यक्रममा छुट भएका बालबालिकालाई लक्षित गरी दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । ढकालका अनुसार दादुरा–रूबेलाविरुद्धको खोपबाहेक अन्य खोप पनि नलगाएका बालबालिकालाई सोही अवधिमा लगाइनेछ ।

    जिल्लाका १६ स्थानीय तहमा १ हजार १ सय ११ खोप केन्द्रबाट खोप लगाइने ढकालले बताए । उनले यो अभियानमा २ हजार २ सय स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक खटिने जानकारी दिए । जिल्लामा ३४ हजार ९ सय ३६ भायल एमआर भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरिञ्ज आवश्यक पर्ने ढकालले जानकारी दिए ।

    खोप अभियान पूर्ण सफल बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार सुरु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले बताए ।कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले यो अभियान विद्यालय केन्द्रीत हुने जानकारी दिए ।

    नेपालले सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने प्रतिबद्वता व्यक्त गरेको छ ।