२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

भानु माविले मनायो ४८ औं वार्षिकोत्सव

बिहिवार , फाल्गुण १०, २०८०

  • 904
    Shares
  • 904
    Shares
  • भैरहवा, १० फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयले ४८ औं वार्षिकोत्सव मनाएको छ । बुधबार विद्यालयमा ४८ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस एवं साँस्कृतिक कार्यक्रम गरी विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आम जनताको करबाट उठेको पैसा जनताकै बीचमा खर्च हुनुपर्ने मान्यता अनुसार भानु माविमा पनि चारकोठे भवनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । उनले आगामी दिनमा पनि विद्यालयको लागि बजेट विनियोजन गरिने बताए ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले आफ्ना बुवाले भानु माविमा अध्यापन गरेको स्मरण गरे । उनले भने, ‘जनताको करबाट विकास निर्माण हुन्छ । म धन्यवादको पात्र होइन । जनताको मतबाट निर्वाचित भएर सांसद् तथा मन्त्री भएकाले जनताको लागि काम गर्नु मेरो दायित्व हो ।’आफ्नो शक्ति र सामर्थ्यले भ्याएसम्म काम गर्ने उनले बताए । परनिर्भरताबाट बच्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

    WhatsApp Image 2024-02-21 at 2.46.50 PM.jpeg

    त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले सबै एकजुट भएर विद्यालयको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले सीमित स्रोतसाधनका बाबजुद भानु माविले उत्कृष्ट नजिता हासिल गरेको बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले विद्यालयको विकासका निम्ति व्यवस्थापन समिति लागिपरेको बताए।

    विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले आफ्ना बालबालिकाप्रति अभिभावकले चासो राख्नुपर्ने बताए । उनले भने, ‘अभिभावकको सक्रियता आवश्यक छ । ’हाल विद्यालमा ८०७ जना विद्यार्थी र ३७ जना शिक्षकशिक्षिका कार्यरत रहेको उनले जानकारी दिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको अध्यक्षता तथा विद्यालयकी सहायक प्रधानाध्यापक पवित्रा कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।