२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ हुँदै

शुक्रवार , फाल्गुण ११, २०८०

भैरहवा, ११ फागुन ।
लुम्बिनी प्रदेशमा टेक कन्कलेभ हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले रुपन्देहीको भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ को आयोजना गर्न लागेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले बताए । अध्यक्ष पोखरेलका अनुसार संस्थाले प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरुको सुनिश्चित भविष्यको लागि वर्षेनी युवाहरु र विभिन्न संघ–संस्थाहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसअघि काठमाडौमा भइरहेको यस्तो कार्यक्रम यसपटक भने लुम्बिनी प्रदेशमा गर्न लागेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमबारे जानकारी गराएका छन् । ‘मुख्य गरी यो कार्यक्रम सूचना प्रविधिमा रुची राख्ने प्लस टू तथा ब्याचलर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको हो’ उनले भने । प्रविधि क्षेत्रमा काम गर्दै आएका उद्योगहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरी एकआपसमा देखिएको दुरीलाई कम तथा विद्यार्थीहरु र विभिन्न निकायहरुबीच पुलको काम गर्ने रहेको बताए । उनले समाजमा केही योगदान गर्नुपर्छ भनेर संस्थाले यस्ता कार्यक्रम अघि बढाएको जानकारी दिए ।

लुम्बिनी प्रदेश युवा परिषद्सँगको सहकार्यमा भैरहवास्थित एशियन बुद्ध होटलमा कार्यक्रम हुने आयोजकले जनाएका छन् । कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरुबीच एउटा कसिलो चेन निर्माण गर्ने प्रदेश युवा परिषद् लुम्बिनीका उपाध्यक्ष गोविन्द बहादुर खत्रीले बताए । उनले भने, ‘यस्ता कार्यक्रमले युवाहरुलाई प्रविधिमा प्रोत्साहन गर्छ । सम्भावना पनि भएको कारण विभिन्न प्रविधिमा युवाहरु जस्तै सचेतना कार्यक्रम पनि गर्न जरुरी छ ।

प्रविधिमा युवाहरुको निःशुल्क आधारभूत क्षमता विकास युवाहरु सम्भावना र उनीहरुको क्षमतालाई पहिचान र काउन्सिल गर्न सके पनि युवाहरु स्वदेशमै टिक्न सक्छन् । आईटी क्षेत्रलाई रोजगारीसँग जोड्न सकिए युवाहरु लाभान्वित हुन सक्ने उनको भनाइ छ । 

त्यस्तै सूचना प्रविधिसँग सरोकार राख्ने सबैलाई फागुन १३ गते आइतबार भैरहवामा हुन गइरहेको टेक कन्कलेभ–२०२४ मा सहभागी हुन समेत आह्वान गरिएको छ । सम्पूर्ण इच्छुक विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सूचना प्रविधिको तीव्र विकास र भविष्यबारे पावरटक, समूहगत छलफल, प्रोजेक्ट प्रदर्शनी, स्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ । यो कार्यक्रमले प्रविधि क्षेत्रमा उदाउँदै गरेका स्टार्टअपलाई पनि विशेष स्थान दिने आयोजकको भनाइ छ ।