
शेरबहादुर देउवाले सम्बोधन गर्ने
आइतवार , फाल्गुण २, २०७७
भैरहवा, २ फागुन ।
संसद् विघटनविरुद्ध नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले भोलि भैरहवामा विरोधसभा गर्ने भएको छ ।‘ जुटौं संसद् विघटनको असंवैधानिक कदमका विरुद्धमा, उठौं लोकतान्त्रिक संविधान रक्षाको पक्षमा’ भन्ने नाराका साथ कांग्रेसले विरोधसभा गर्ने जनाएको छ ।
कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी विरोध सभाबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सोमबार बिहान ११ बजे बुद्धचोकबाट सुरु हुने र्याली नारायणस्थान, विद्रोही चोक, मिलनचोक, गल्लामण्डी हुँदै श्री राम जानकी हनुमान मन्दिरमा पुगेर सभामा परिणत हुने बताए ।
विरोसभालाई कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांण, सार्वजनिक लेखा समितिका सभापति भरत शाह लगायतले सम्बोधन गर्ने रज्जाकले जानकारी दिए । ‘जिल्लास्तरीय कार्यक्रम रहेकोले स्वेच्छिक रुपमा लाखौं नागरिकको सभामा सहभागिता रहनेछ, लोकतन्त्र र संविधानको रक्षाका लागि उहाँहरु आउनुहुनेछ, कम्युनिष्ट पार्टी जस्तो पैसाको भरमा कांग्रेसले भिड जम्मा गर्दैन ’उनले भने ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले संसद विघटन जस्तो असंवैधानिक कदमविरुद्ध कांग्रेसले विभिन्न चरणमा विरोधका कार्यक्रमहरु गर्दैै आएको बताए । उनले कम्युनिष्ट पार्टी जतिसुकै बलियो भए पनि नेपालमा कम्युनिष्ट राज्य सत्ता संविधानबाट स्थापित हुन नसक्ने दावी गरे । कांग्रेस रुपन्देही प्रचार प्रसार समिति संयोजक विश्वेश्वर बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij