बिहिवार , आश्विन २९, २०८३
पश्चिम नवलपरासी, २९ असोज । भारतीय बजारबाट भन्सार छली गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको मदिरा पश्चिम नवलपरासीमा प्रहरीले बरामद गरेको छ । प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएसँगै सीमावर्ती क्षेत्रबाट हुने अवैध मदिरा कारोबारबारे थप अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीका अनुसार भारतीय बजारबाट नेपालतर्फ अवैध रूपमा मदिरा भित्र्याँइदै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
सो क्रममा सुस्ता गाउँपालिका–५, महलबारीस्थित भित्री सडक खण्डबाट ११ वटा ठूला हरिया झोलामा ल्याउँदै गरिएको मदिरा बरामद गरिएको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी मदन थापाका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उक्त मदिरा नियन्त्रणमा लिएको हो ।
प्रहरीले ७ वर्ष पुरानो ‘ब्लेन्डेड ओल्ड मन्क (ट्रिपल एक्स)’ रमका ७५० मिलिलिटरका ७४२ बोतल बरामद गरेको जनाएको छ । प्रतिबोतल अन्दाजी दुई हजार रुपैयाँका दरले उक्त मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी मदिरा भित्र्याउने कार्यमा संलग्न व्यक्ति तथा सम्भावित गिरोहको पहिचान गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij