images

शनिवार, बैशाख १५ गते २०८१

ओलीजीको पालामा स्रोत सुनिश्चितता बिनै ठूलो घोषणा भए : अर्थमन्त्री डा.महत

ओलीजीको पालामा स्रोत सुनिश्चितता बिनै ठूलो घोषणा भए : अर्थमन्त्री डा.महत

images
images
images
बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • ओलीजीको पालामा स्रोत सुनिश्चितता बिनै ठूलो घोषणा भए : अर्थमन्त्री डा.महत

    भैरहवा, १७ फागुन । अर्थमन्त्री डा. प्रकाश शरण महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा धेरै ठूला ‘ग्राण्ड’ घोषणा भएको बताएका छन् । उनले बजेट विनियोजन र स्रोत सुनिश्चित नगरीकन ठूला घोषणा गरिएको बताए ।

    images

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले भने, ‘यति धेरै घोषणा गरियो । हामीलाई पनि लाग्यो यति धेरै घोषणा भएको छ कसरी पूरा हुन्छ, कहाँबाट स्रोत ल्याउनुहुन्छ ? ओलीजीले एकैपटक ७५३ वटै पालिकामा १५ बेडको हस्पिटपल केन्द्रमा बसेर शिलान्यास गर्नुभयो । स्वीच अन भन्नुभो । स्थिति के रहेछ भने बजेट नराखिकन घोषणा भएछ ।’

    उनले समस्याहरु थुप्रिएर बसेको अवस्थामा आफूले काम गरिरहेको बताए । मन्त्री डा. महतले केन्द्र सरकारको स्रोत घटे पनि अपेक्षा भने नघटेको बताए । सीमित स्रोतसाधनका बीचमा काम गर्नुपरेको उनले बताए ।

    Prakash Saran 5.jpg

    नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता समेत रहेका डा. महतले कांग्रेस गैरजिम्मेवार बन्न नसक्ने दावी गरे । उनले भने, ‘कांग्रेसका मन्त्रीहरुले राम्रा काम गरेका छन् । बेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न खोजेका छौं । म पदमा बसुञ्जेल समर्पणका साथ जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्छु भनेर अघि बढेको छु । तर, सबैलाई एउटै डालोमा हाल्ने हाम्रो प्रवृत्ति छ ।’

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बताए । भारतीय पर्यटकले नेपालमा भारु २५ हजार भन्दा बढी ल्याउन नपाएपछि कसरी खर्च गर्ने भन्ने कांग्रेस नेता–कार्यकर्ताको प्रश्नमा उनले यसलाई सहज गर्न जरुरी रहेको बताए । उनले भने, ‘म यसमा लागेको छु ।’

    सीमावर्ती क्षेत्रमा बसेका नागरिकले भारतबाट सामान ल्याउँदा केही सहजता हुनुपर्छ भन्ने माग गर्नु स्वभाविक भए पनि भारतबाट सबै सामान किन्ने हो भने नेपालका उद्योग–व्यवसाय अझ धरासायी हुने र धेरैको रोजगारी गुम्ने बताए । उनले यसबारे सन्तुलित दृष्टिकोण राख्न आग्रह गरे । सहकारीका बचतकर्ताको रकम जोगाउनेतर्फ लागेको उनको भनाइ छ ।

    कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ का सहसचिव कुल प्रसाद न्यौपाने, क्षेत्र नम्बर ३ (क) का कोषाध्यक्ष दीपक बहादुर कुँवर, क्षेत्रीय प्रतिनिधि कमला आचार्य, सिद्धार्थनगर नगरपालिका–९ का सभापति श्याम खनाल, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर–७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, नेपाल इन्जिनियरिङ एशोसिशयन लुम्बिनी प्रदेशका अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठ, युवा नेता माधव शर्मा, राकेश गुरुङ, पल्लवी न्यौपानेलगायतले भनाइ राखेका थिए ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Prakash Saran 7.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij