२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कम्युनिष्टहरु अर्को राजा भए : शेरबहादुर देउवा

सोमवार , फाल्गुण ३, २०७७

भैरहवा, ३ फागुन । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु अर्को राजा भएको बताएका छन् । उनले प्रचण्ड र ओली नयाँ राजाको रुपमा आएको बताए । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट सरकारलाई जनताको कुनै मतलब नभएको आरोप लगाए । उनले कोभिड–१९ को अवस्थामा पनि कम्युनिष्ट सरकार एकआपसमै झगडा गरिरहेको बताए ।

‘पार्टीलाई अलग गराउन पनि सकेका छैनन्, न त झगडा मिलाउन सकेका छन्, कम्युनिष्ट पार्टीका कारण कांग्रेसमाथि झन चुनौती थपिएको छ, ’उनले भने । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिष्टहरुबीचको लडाइ र झगडाले कांग्रेसमा समेत समस्या आएको बताए । उनले जुलुसको भरमा अदालतले निर्णय नगर्ने बताए । ‘अदालतको निर्णय मान्छौं, तर अदालत भन्दा ठूलो अदालत छैन, जनता भन्दा ठूलो अदालत अर्को छैन, चुनाव भए चुनावमा जान्छौं, ’देउवाले भने । 

संसद विघटनसम्बन्धि मुद्दा अदालतमा विचाराधिन रहेकोले अदालतको निर्णय पर्खिनुपर्ने उनको भनाइ छ । कांग्रेस स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएकोले अदालतले न्याय दिन्छ भन्ने पार्टीको मान्यता रहेको उनले बताए । ‘ठूलो जुलुसको भरमा अदालतले निर्णय गर्ने होइन, ’देउवाले भने ।

संसद विघटन भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भए पनि निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको बताए । प्रधानमन्त्री ओलीले निर्वाचन वैशाखमा गराउँछु भने पनि आयोगले अहिलेसम्म निर्वाचनको कार्यतालिका दिन नसकेको उनले बताए ।

‘कि निर्वाचन आयोगले ६ महिनाभित्र निर्वाचन गराउँछु भन्नुप¥यो, चुनाव चिन्ह पनि नेकपालाई दिदैन, सूर्य चिन्ह कसले पाउने हो, आयोगले अहिलेसम्म निर्णय गरेको छैन्, ’उनले भने ।

‘कम्युनिष्टले जितेपछि रुन पनि पाँइदैन भनेको थिए, साँच्चै नै कम्युनिष्ट सरकारले जनतालाई दुःख दिएको छ, ’देउवाले भने । जनता कम्युनिष्टसंग वाक्क भइसकेको उनले बताए । जनता नै देशको मालिक भएको र यो देशमा जनता भन्दा ठूलो मालिक अरु कोही नभएको उनले बताए । भाषणले जनताले भोट नहाल्ने भएकोले गाउँगाउँमा र जनताको घरदैलोमा पुग्न उनले कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरे । आगामी निर्वाचनमा कांग्रेसले जित्ने उनले दावी गरे । कम्युनिष्टको सरकार आएपछि मुलुकमा भ्रष्टाचार बढेको उनले बताए ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आए पछि रुन पनि पाइँदैन भन्नुभए जस्तै अहिले जनताले दुःख पाएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले केपी ओलीले संविधानमाथि निरन्तर प्रहार गरेको बताए । उनले ओलीले संविधानको मूल मर्मविपरीत अगाडी बढेको आरोप लगाए । उनले कोभिड–१९ को महामारीमा सरकारले कुनै राहत प्याकेज नल्याएको बताए । ‘ओलीजीलाई आफ्नो मात्रै सुरक्षाको चिन्ता छ, ’खांणले भने ।

संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति तथा कांग्रेस नेता भरत कुमार शाहले संविधान बचाउन कुनै कदम चाल्न कांग्रेस पछि नहट्ने बताए । उनले कांग्रेस सबै समुदायलाई समेटेर अगाडी बढ्ने पार्टी भएको दावी गरे ।

प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले कम्युनिष्ट सरकारका कारण जनताले दुःख पाइरहेको बताए । उनले कम्युनिष्ट सरकारले जनताको मतको अपमान गरेको बताए । सांसद यादवले भने, ‘जनताको मतको अपमान गर्ने कम्युनिष्ट सरकारले आफै जुलुस र आन्दोलन गरिरहेको छ, आफै असंवैधानिक कदम चाल्ने अनि आफै आन्दोलन गर्ने, ’अचम्म छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले नेकपा नेतृत्वको सरकारले जनताको अधिकार कुण्ठित गरेको बताइन् । उनले कांग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने दावी गरिन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले नेकपाको साइबर सेनालाई परास्त गर्न नेविसंघ र नेपाल तरुण दलले पूर्णता पाउनुपर्ने बताए । उनले जस्तोसुकै मुल्य चुकाउनुपरे पनि कांग्रेसको शिर झुकाउन नदिने बताए ।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादवले कम्युनिष्ट पार्टीले जनतालाई दुःख दिएर आफ्नो पार्टीलाई बलियो बनाएको बताए । उनले कांग्रेस जहिले पनि जनताको लागि लडेको बताए ।

नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरका सभापति दिलिप धितालले कम्युनिष्ट सरकार आएपछि मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढ्दै गएको बताए । 

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व, उपसभापति सरिता चौधरीको स्वागत तथा सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।IMG_2559.JPG

विरोधसभा अघि भैरहवाको बुद्धचोकबाट सुरु भएको र्‍याली नारायणस्थान, मिलनचोक, गल्लामण्डी हुँदै श्री राम जानकी हनुमान मन्दिरमा पुगेर सभामा परिणत भएको कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए ।IMG_2475.JPG