
बुधवार , श्रावण २१, २०७७
भैरहवा, २१ साउन ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि यही साउन १९ गते समाचार संकलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेद्वारा गरिएको आक्रमण प्रयास तथा क्यामेरा खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघ प्रदेश ५ ले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न प्रहरीमाथि कारवाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्दै आगामी दिनमा यस्ता कार्य नदोहोर्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
महासंघका महासचिव भेषराज बस्नेतद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरीको जिम्मेवार अधिकृतबाट भएको यो अराजक हर्कत आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो, कानून कार्यान्वयन गर्ने निकायबाटै भएको यो घटना पत्रकार माथिको आक्रमण मात्रै नभई जनताको सूसुचित हुने अधिकारमाथिको हमला हो ।’
विज्ञप्तीमा प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको छ, नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछ, उल्लेख गरिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको सालझण्डी बजारमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोशाकमा रहेका प्रहरीले सवारीसाधनको जाँच गरिरहेको तस्वीर लिने क्रममा प्रहरी निरीक्षक पाण्डेसहितका प्रहरीले पत्रकार भगवती पाण्डेको क्यामेरा खोस्नुका साथै सोही विषयलाई लिएर झगडा गर्दै पत्रकारद्वयमाथि दुव्र्यवहारका साथ आक्रमण प्रयाससमेत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij