
शुक्रवार , चैत्र ९, २०८०
भैरहवा, ९ चैत ।
रुपन्देही प्रहरी फरार प्रतिवादी (कसुरदार) लाई पक्राउ गर्न अग्रसर देखिएको छ । विभिन्न घटनामा कैद भुक्तान नगरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्नमा प्रहरीले सक्रियता बढाएको छ ।
सोही क्रममा रुपन्देहीमा पाँच जना फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएर हालसम्म फरार कसुदारलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालय तथा यस मातहत ईलाका प्रहरी कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय रुद्रपुर, प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ बिहीबार जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरेको डीएसपी भट्टले जानकारी दिए । प्रहरीले विभिन्न मुद्दाका फरार ६ जना कसुदारहरुलाई पक्राउ गरी यसै साता (चैत ६ गते मंगलबार) जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरेको थियो ।
को हुन् पक्राउ परेका पाँचजना ?
रुपन्देही प्रहरीका अनुसार २०६७ असार २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १५ दिन कैद र रु. २ हजार जरिवाना भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ बस्ने ३८ वर्षिय सन्दिप गुरुङ रहेका छन् ।
त्यस्तै २०६७ असार ७ गतेको फैसलाले लागूऔषध मुद्दामा २ दिन कैद र रु. २ हजार जरिवाना भएका सिद्धार्थनगर–४ बस्ने बाल गोबिन्द धोबी, २०६३ असार १४ गतेको फैसलाले सवारीज्यान मुद्दामा १८ दिन कैद र रु. २ सय जरिवाना भएका बुटवल उप–महानगरपालिका–३ बस्ने ४९ वर्षिय प्रतिक पोखरेल पक्राउ परेका छन् ।
त्यसै गरी २०५८ चैत ५ गतेको फैसलाले कुटपिट मुद्दामा रु.१ हजार जरिवाना भएका कञ्चन गाउँपालिका–३ बस्ने ७० वर्षिय हिरामान थापा मगर र २०७६ वैशाख १७ को फैसलाले जालसाजी मुद्दामा रु.१ सय जरिवाना फैसला भएका रुपन्देही रोहिणी गाउँपालिका–५ ईम्लिहवा बस्ने ६४ जित बहादुर यादवलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij