भैरहवा, ११ चैत ।
राज्यले आफूहरुलाई पहिचान गर्न नसकेको नेपाल कमर्शियल आर्टिष्ट संघका अगुवाहरुले गुनासो गरेका छन् । उनीहरुले कलाकारको परिचय हराउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार भैरहवामा भएको नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीको प्रथम अधिवेशन तथा वार्षिक साधारणसभामा बोल्ने आर्टिष्ट (कलाकार)हरुले यस्ता बताएका हुन् ।
नेपाल कमर्शियल आर्टिष्ट संघका केन्द्रीय महासचिव चित्र बहादुर कार्कीले राज्यले आफूहरुलाई पनि समान दृष्टिकोणले हेर्नुपर्ने बताए । उनले बिचौलियालाई रोक्न पहल गर्नेपर्ने बताए । उनले भने, ‘थोत्रो भित्तालाई पनि रंगाएर उज्यालो बनाउने काम गरेका छौं, तर राज्यले हामीलाई पहिचान गर्न सकेन । चुनौतीलाई अवसरमा बदल्दै सेवालाई उत्कृष्ट बनाउँदै लैजाने लक्ष्य छ ।’
महासचिव कार्कीले संघमा आबद्ध व्यवसायीहरुले आफ्नो पसलमा संघमा आबद्ध भएको भन्ने लेखिएको बोर्ड राख्न आग्रह गरे । यसले आर्टिष्टको परिचय र गौरव बढ्ने बताए ।
त्यस्तै संघका केन्द्रीय सदस्य कमलराज श्रेष्ठले कला पेशा पलायन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारी संयन्त्रको हेपाहा प्रवृत्तिका कारण पेशा पलायन हुने अवस्थामा पुगेको बताए । उनले भने, ‘हाम्रो कलाकारिताले बाटो देखाउने काम गरेको छ । हाम्रो पेशालाई जोगाउन अनुरोध गर्दछौं । ’ उनले सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था ल्याएर आफूहरुको रोजीरोटी खोसेको आरोप लगाए ।
नेपाल कमर्शियल आर्टिष्ट संघ सटर तथा भित्तेलेखन कला समितिका संयोजक केशव सिंह लामाले कलाकार सभ्य र सिर्जनशील भएको बताए । उनले मुलुकका करिब ३–४ लाख आर्टिष्ट बेरोजगार हुने अवस्थामा रहेको बताए । उनले भने, ‘हाम्रो उपस्थिति बिना धेरै काम असम्भव छ । यो कुरा राज्यले बुझ्नुपर्छ ।’
संघका रुपन्देही अध्यक्ष उज्जवलकुमार दे कायस्थले विगतमा हातबाट आर्टको काम हुँदै आए पनि पछिल्लो समय कम्प्युटरबाट हुँदै आएको बताए । उनले भने, ‘हातबाट गरेका कामहरु धेरै रोचक, गम्भिर, मार्मिक र गुणस्तर हुन्छन् । हातबाट गरिएको पेन्टिङ, फोटो र आर्टहरुको मूल्य बढी हुन्छ । ’ कलामार्फत कलाकारले देशको नाम विश्वमै चिनाएको उनको भनाइ छ ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले नेपाल कला संस्कृतिले भरिएको देश हो भन्ने कुरामा दुईमत नरहेको बताए । उनले कलालाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै कला लोप हुँदै गएकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए । उनले भने, ‘पुरानो इतिहासलाई मेट्नुहुँदैन । ’ उनले दर्ता नगरी कुनै पनि व्यवसाय सञ्चालन गर्न नहुने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कलाकारको मन सफा रहेको बताए । उनले कुनै कलाकार प्राकृतिक रहेको र कोही मिहिनेत र अभ्यासबाट बन्ने गरेको बताए । उनले भने, ‘हरेक क्षेत्रमा दुईप्रकारका मान्छे हुन्छन् । कसैलाई प्रकृतिले नै कलाकार बनाएको छ । कोही मिहिनेत र अभ्यासले बनेका हुन्छन् । दुवै महत्वपूर्ण हुन् ।’ उनले व्यवसायीमा एकता जरुरी रहेको बताए । उनले कलाकारहरुलाई स्थानीय सरकारकोतर्फबाट आवश्यक साथ र सहयोग गर्ने बताए ।
नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीका अध्यक्ष उज्जवलकुमार दे कायस्थको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, संघका जिल्ला उपाध्यक्ष अशोक कुमालको स्वागत तथा सचिव मनोहर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।