
बुधवार , चैत्र १४, २०८०
बुटवल, १४ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित राजपुर खोलामा पक्की पुलको निर्माण कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका र स्थानीय उपभोक्ताको कुल ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो पुलको बुटवल–१२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्माले एक समारोहकाबीच शिल्यान्यास गरेका हुन् ।
विगत लामो समयदेखि पुलको अभावमा आवतजावतको समस्या झेल्दै आएका बुटवल–१२ तामनगरस्थित राजपुरका बासिन्दा अब सो समस्याबाट मुक्त हुने भएका छन् । राजपुर खोलामा पक्की पुल निर्माण हुने भएपछि राजपुर खोला पुर्व र पश्चिम सडक सञ्जालले जोडिने र आवतजावतमा सहजता आउने भएको हो ।
पुलको शिलान्यास गर्दै बुटवल–१२ का वडाअध्यक्ष शर्माले विकासका दृष्टिले पछाडी परेको तामनगर र राजपुुर क्षेत्रको विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए । मानव जीवनलाई सहज बनाउने खालका विकास निर्माणमा जोड दिँदै अध्यक्ष शर्माले दिगो विकासमा जोड दिन स्थानीयलाई आग्रह गरे ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुरको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, सक्रिय टोल विकास संस्थाका अध्यक्ष भेषनारायण भण्डारी प्राविधिक ईश्वरी प्रसाद आचार्य, उपभोक्ता समितिका उपाध्यक्ष हरिश ढकाल, सचिव भिमबहादुर थापा लगायतले बोल्दै पक्की पुल निर्माणपछि ३ वटा टोललाई जोड्न र आवतजात गर्न समेत सहजता भइ आत्मीयता समेत बढ्ने बताए ।
स्थानीयका अनुसार तामनगरका ३ वटा टोलका सयौं घरपरिवारलाई घुमाउरो र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । राजपुर टोल विकास समिति, सक्रिय टोल विकास समिति, बुद्धटोल विकास समितिका स्थानीयलाई यो पुल निर्माणपछि आवातजावतमा सहजता हुने उनीहरुले बताएका छन् ।
२० मिटर लामो र १२ फुट चौडाईको सो पुलबाट साना तथा मझौला सवारीसाधनहरु मात्र आवतजावत गर्न सक्ने छन् । आर्थिक वर्ष २०८०–८१ मा सम्पन्न गर्नका लागि सबैतिरबाट पहल गर्नुपर्ने बताउँदै योजना निर्माणमा कुनै पनि कमीकमजोरी हुन नदिने र सहयोगका लागि सबैलाई अपील समेत गरेका छन् ।
यो पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका धार्मिकस्थलहरु शिवपुरी धाम, सुपा देउराली मन्दिर, दुर्गा मन्दिर तथा गणेश मन्दिरमा पनि स्थानीय तथा बाह्य क्षेत्रबाट धार्मिक पर्यटकहरु ल्याउन सकिने बताए । साथै तामनगरमा रहेको कोरियन टेक्निकल इन्स्च्यिूट, जिपी कोइराला प्रतिष्ठान जस्ता ठुला योजना समेत सञ्चालन तथा निर्माणमा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij