२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेकपाको सभामा जनताको पक्षमा कुरा भएन : दिपक बोहरा

शुक्रवार , फाल्गुण ७, २०७७

भैरहवा, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दिपक बोहराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै समुहको आम सभामा जनताको पक्षमा कुरा नराखिएको बताएका छन् । उनले प्रचण्ड–माधव र ओली समुहले गर्ने सभाहरुमा जनताको पक्षमा एउटा पनि कुरा नराखिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको ७१ औं प्रजातन्त्र दिवस एवं पार्टीको झण्डोतोलन तथा चुनाव चिन्ह अनावरण समारोहलाई सम्बोधन गर्दै बोहराले एउटा पक्षले आमसभा गर्दा अर्को पक्षले काउण्टर सभा गरेको बताए । ‘बुटवल र काठमाण्डौंमा भिड भयो, दुवै पक्षले भिड गरे, तर आमसभामा जनताको कुरा राखिएन, यतिसम्म कि किसानले मल पाएका छैनन्, जनता बेरोजगार छन, कोभिड–१९ मा जनताले राहत पाउन सकेनन्, यो कुनै चर्चा नै भएन, ’बोहराले भने ।

एक पक्षले अर्को पक्षलाई गाली गर्ने र एउटा पक्षले संसद पुनस्र्थापना हुन सक्दैन र अर्को पक्षले संसद विघटन प्रधानमन्त्रीको अधिकार हो भन्ने कुरा गरिरहेको बोहराले बताए ।

पूर्वमन्त्री समेत रहेका नेता बोहराले अदालतको निर्णयलाई पार्टीले स्वागत गर्ने बताए । उनले जनताको कुरा गर्ने हो भने ताजा जनादेशको खांचो रहेको बताए । ३ वर्ष भइसक्दा पनि जनताले कुनै किसिमको राहत पाउन नसकेको उनको भनाइ छ । 

‘झण्डै दुईतिहाई बहुमत प्राप्त सरकारले राम्रो काम गर्छ भन्ने आशा थियो, तर ३ वर्ष नेकपाभित्रकै आन्तरिक संघर्षमा बित्यो, बोहराले भने, ’पार्टीभित्रको आन्तरिक झगडामा संसद विघटन भयो ।’ संसद पुनस्र्थापना भए पुनः फोहोरी खेल सुरु हुने उनले बताए ।

नेकपा नेतृत्वको सरकारले जनताको हकहितमा काम गरेको भए जनताले स्याबासी दिने भए पनि सरकारले त्यसो गर्न नसकेको उनले बताए । संसद विघटन प्रधानमन्त्रीले गर्न पाउने संविधानमा प्रावधान नभएको बोहराले बताए । राजासहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र राप्रपाको एजेण्डा भएको र यो एजेण्डा जनताले मन पराएको उनको भनाइ छ ।

‘जनताले हाम्रो एजेण्डा मन पराउनुभएको छ, उदाहरणको लागि राप्रपाले आयोजना गर्ने सभा तथा कार्यक्रमहरुमा स्वतःस्फूर्त जनताको सहभागिता बढ्दै गएको छ, ’बोहराले भने ।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले प्रधानमन्त्री केपी ओलीले निर्वाचित संसदको हत्या गरेको बताए । उनले मन्दिरमा घण्टी बजाएर र शंख फुकेर मात्र हिन्दु राष्ट्र र राजसंस्था स्थापना नहुने भएकोले यसको लागि हिन्दु राष्ट्र र राजसंस्थाको विचार बोक्ने पार्टीलाई मत दिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा सतर्क हुनुपर्नेमा जोड दिए । पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य प्रदिप उदय, कैलाश गुरुङ, ताहिर अली, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता लगायतले बोल्दै राजसंस्था र हिन्दु राष्ट्रको बारेमा घर–घरमा चर्चा हुन थालेको बताए ।

राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, जिल्ला प्रवक्ता पुनाराम पोखरेलको स्वागत तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए ।IMG_2899.JPG