२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्तनपान सप्ताहसंगै रोटाखोपबारे तिलोत्तमामा सहजीकरण 

बुधवार , श्रावण २१, २०७७

तिलोत्तमा । तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तिलोत्तमा मणिग्राम स्थित नलिनी खोप केन्द्रमा स्तनपान सप्ताह तथा रोटाखोप सम्बन्धि सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको नियमित खोपको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले बच्चा र आमाको स्वास्थ्यका लागि स्तनपान एकदमै महत्वपुर्ण रहेको बताईन ।

उनले पछिल्लो समय झाडापखालाको अचुक खोप रोटाखोप समेत बच्चालाई लगाउनु पर्नेमा जोड दिईन । स्तनपान सम्बन्धि गलत धारणालाइ चिर्दै सामाजिक एकता, बिश्वास र पारिवारिक सुखका लागि स्तनपानको बिशेस महत्व रहेकोमा उनको जोड थियो । 

तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले स्तनपान र रोटाखोपले बालबालिका मात्रै नभई आमाको स्वास्थ्य र प्रत्यक्ष रुपमा देश बिकाशमा टेवा पुग्ने बताए । उनले स्तनपान अमृत समान नारामै मात्र सिमित नभएर बास्तवमै अमृत रहेको पनि बताए । त्यस्तै कार्यक्रममा बोल्दै वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेले पूर्ण सरसफाई प्रबर्धन र पूर्ण खोपको प्रतिबद्दतामा सबैले साथ दिनुपर्ने बताए । 

कार्यक्रममा स्तनपान र खोपको महत्वका बारेमा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, स्वास्थ्य स्वयमसेविका भगवती पौडेल, स्वस्तिका भण्डारी लगायतले आफ्नो मन्तव्य राखेका थिए । आनन्दबन स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद पौडेलको स्वागतमा भएकोे कार्यक्रमको संचालन थानेश्वर बस्यालले गरेका थिए । नगरपालिकाले नियमित खोप शुरुवात संगै पूर्ण सरसफाई अभियान नियमित रुपमा गर्दै आएको छ ।