
बुधवार , श्रावण २१, २०७७
२१ साउन, बुटवल । सबोच्च अदालतमा पेशी तोकिएको दिन एका बिहानै बुटवल उपमहानगरपालिकाले विवादित घरमा डोजर चलाएको भन्दै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आपत्ति जनाएका छन् । नेता खाँणले बुटवल उपमहागर पालिकाको निर्देशनमा साविक वडा नं ११ (हाल वडा नंं. ९) कालिकापथमा रहेको खिमबहादुर हमालको घरमा स्थानिय प्रशाशनको आडमा एका बिहानै डोजर लगाईएको भन्दै आपत्ती जनाएका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद खाँडले विज्ञप्ति नै निकालेर मुद्दाको किनारा नलागेको घर पेशी तोकिएकै दिन डोजर चलाएर भत्काउनु निन्दनीय र सम्मानीत न्यायलय माथिको हस्तक्षेप भएको बताए । उनले बिज्ञप्तीमा मुद्दाको किनारा नलाग्दै बल प्रयोग गरी व्यक्तिको घर भत्काइएको कार्यले अदालतको अपमान र व्यक्तिको नैसर्गिक अधिकारप्रति कुठाराघात भएको उल्लेख गरेका छन् ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका हमालले वि.सं. २०४६ सालमा बुटवल नगर पञ्चायतबाट नक्सा पास गराई घर निर्माण गरेका र आर्थिक वर्ष २०७६÷७७ सम्म उक्त घरजग्गाको भूमि कर र सम्पत्ति कर बुटवल उपमहानगरपालिकामा निरन्तर बुझाउँदै आएको उपमहानगरलाई जानकारी हुंदाहुंदै उपमहानगरपालिकाले न्यायालयको निर्णय पर्खिने धैर्यता समेत नगर्नु कानून विपरीत भएको खाँडले टिप्पणी छ । उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा बुधबार बिहान ६ बजे नै हमालको घर भत्काइदिएको हो । घरमा मान्छे सुतिरहेका बेला बाहिर निस्कन समेत नभनी एक्कासी अमानवीय र आपराधिक हिसाबले घर भत्काएर उपमहानगरपालिकाले ज्यादती गरेको हमालले गुनासो गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बुटवल नगर अध्यक्ष बाबुराम पन्थी र नेकपाकै कार्यकर्ता रहेका ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले हिजो साँझ ७ बजे आफूलाई भेटेर अदालतमा गएर मुद्दा फिर्ता लिन र वडा कार्यालयमा क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेको हमालले बताएका छन् । त्यसको भोलिपल्ट एकाबिहानै मान्छे सुतेका बेलामा घरमा डोजर चलाउनुले असुरक्षाको महसुस भएको हमाल बताउँछन् ।
कालिकापथ सडकलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि डोजर चलाउनुपरेको बुटवल उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij