२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रधानमन्त्रीको सेटिङलाई अदालतले भत्काइदियोस् :  गगन थापा

शनिवार , फाल्गुण ८, २०७७

नवलपरासी, ८ फागुन ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र सेटिङलाई भत्कादिन अदालतलाई आग्रह गरेका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चालेको भन्दै त्यसकोविरुद्ध नवलपरासीको बर्दघाटमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले यस्तो बताए ।

‘अहिले प्रधानमन्त्री केपी शर्मा ओली एकातिर अर्कोतिर सिंगो देश उभिएको अवस्थामा अदालतले प्रधानमन्त्रीको पक्षमा कि जनताको पक्षमा उभिने निर्णय गर्दै फैसला गर्ने बेला आएको छ’ उनले भने ‘श्रीमानहरुले सोच्ने बेला भएको छ, न्याय गरेर मात्रै हुँदैन न्याय गरेको देखिनुपर्छ ’।

उनले थपे ‘प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो मर्यादा राख्नुभएन, प्रधानमन्त्रीको षड्यन्त्रमा राष्ट्रपतिले साथ दिनुभयो,  प्रधानमन्त्रीले अदालतलाई पनि सेटिङ गरेको छु भन्ठानुभएको छ, मेरो श्रीमानहरुलाई आग्रह र विश्वास छ भत्काइदिनुहोस प्रधानमन्त्रीको यो सनक र सेटिङलाई’।

पूर्वमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री ओलीकै पार्टी नेकपाको एक पक्ष सडकमा बस्दै निर्वाचन हुँदैन भन्ने र सरकारमा बस्ने अर्को पक्षले बैशाखमा निर्वाचन गराउँछौ भन्ने स्थिति सिर्जना हुनु प्रधानमन्त्रीले देशलाई हिसा र द्वन्दको बाटोमा धकेल्न लागेकोे आरोप लगाए ।

‘बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद चलाउन मन लागेन भने घर जाने, घर बस्न पनि मन लागेन भने बन जाने हो तर संसद विघटन गर्ने होइन, उनले भने ‘प्रधानमन्त्रीले संसद्को सामना नगरी बैठकको तालाचाबी राष्ट्रपतिलाई लुकाएर राख्न दिनुभयो, प्रधानमन्त्री ओली संसदबाट भागेको भगौटा हो ।’

विगतमा कांग्रेसले पनि आफ्नै पार्टीभित्रको विवाद मिलाउन नसकेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले संसद विघटन गर्दा देशले संसदीय विकृति र शाही शासन पाएको तितो अनुभव रहेको हुँदा संविधान बनाउने बेलामा सबै पार्टी भएको संसदमा निर्वाचित सासदहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले ससद विघटन गर्न पाउँदैन भनेर उल्लेख गरेको उनले बताए ।