भैरहवा, २३ वैशाख ।
पूर्व कृषिराज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले जनता समाजवादी पार्टी, नेपाल (जसपा) फुट्छ भन्ने कुरा आफूले ६ महिना अगाडि नै भनेको दावी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री यादवले लेखेका छन्, ‘मैले ६ महिना अगाडि जसपाका साथीहरुलाई भनेको थिएँ जसपा फुट्छ फोरमका पुरानो साथीहरूमाथि उपेन्द्र यादवज्यूले खासै विश्वास र महत्व दिनुभएन । त्यसैको परिणाम जैसी करनी वैसी भरनी ।’
हाल गुल्जारी राजेन्द्र महतोको नेतृत्वमा बनेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा छन् । २०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा गुल्जारी जसपाकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेला आइतबार जसपा, नेपाल विभाजित बनेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजित बनेको हो ।