भैरहवा, ९ फागुन ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले के फैसला गर्छ भन्ने प्रतीक्षामा आफुहरु रहेको बताएका छन् । उनले निर्वाचन भयो भने पार्टीले निर्वाचनमा भाग लिने बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले वास्तविक रुपमा निर्वाचनको लागि तयार नभए पनि निर्वाचन हुने अवस्थामा भने पार्टीले भाग लिने बताए । उनले यसपटकको संसद् विघटनलाई असामान्य र सोच्नैपर्ने बाध्यात्मक परिस्थितिका रुपमा लिएको बताए । अब देशलाई जोगाउने जिम्मा जनताको कांधमा आएको डा. राउतको भनाइ छ । आगामी निर्वाचनपछि जनताको लागि काम गर्न नसक्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने खालको व्यवस्था हुनुपर्ने उनले बताए ।
‘प्रतिनिधिसभा विघटन भएपछि विदेशी हस्तक्षेप बढेको छ, देश संकटमा पर्ने अवस्था छ, त्यसले जनता सतर्क हुनुपर्छ, ’उनले भने । संसारकै सर्वोत्कृष्ट व्यवस्था आइसके पनि देश डेडलकमा फसेको उनले बताए ।
‘सरकारी पक्ष र प्रतिपक्ष दुवै सडकमा आएपछि जनता पनि सोच्न विवश भएका छन, समग्र राजनीतिबाट अब के अपेक्षा गर्ने, यक्ष प्रश्न खडा भएको छ, ’उनले भने । मुलुकमा दुईतिहाई बहुमतको सरकार आए पनि देशको विकास हुन नसकेको उनको भनाइ छ ।
‘विदेशमा ४० लाख युवा छन, कोरोना महामारीमा पनि उनीहरु घर फर्कन पाएनन्, देश फर्कने वातावरण भएन, नेपालमा फर्केका युवाहरुको लागि पनि रोजगारीको अवसर सिर्जना भएन, ’उनले भने ।
देशको विकास गर्न पार्टी र पात्रलाई चयन गर्नुपर्ने उनले बताए । उनले लोकतन्त्र र दलीय व्यवस्थालाई जति सरापे पनि त्यसको विकल्प नरहेको दावी गरे ।
जनमत पार्टी र नेकपाको ओली समुहबीच सहकार्य हुने चर्चा छ नी भन्ने जिज्ञासामा डा. राउतले राजनीतिमा कोही पनि स्थायी मित्र र शत्रु नहुने बताए । ‘उपेन्द्रजीले ओलीसंग मिलेर सरकारमा सहभागि भई स्वास्थ्यमन्त्री हुने र अरुले सहकार्य गर्न नसक्ने कहीकतै लेखिएको छैन, राजनीतिमा आफ्नो एजेण्डा र माग पुरा गराउन कुनै पनि पार्टीसंग पनि सहकार्य हुन सक्छ, ’डा. राउतले भने ।
उनले क्षेत्रीय रुपमा मुद्दा उठाउनु पनि राष्ट्रियकै मुद्दा उठाउनु भएको बताए । भारतको दिल्लीमा आम आदमी पार्टीले चुनाव जितेर त्यहाँको सरकार चलाउँछ, त्यसलाई क्षेत्रीयता त भन्न मिलेन नी, ‘उनले भने ।
गास, बास, शिक्षा, स्वास्थ्य, रोजगार कसरी सुरक्षित गर्न सकिन्छ भन्ने रोडम्याप जनमत पार्टीसंग रहेको उनले बताए । वडास्तरदेखि नै प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा सचिव शंकर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।