२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

नयाँ सरकार गठन बारे एमालेसंग कुनै ठोस छलफल भएको छैन : प्रमुख सचेतक लेखक

बुधवार , बैशाख २६, २०८१

काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसंग कुनै ठोस छलफल नभएको बताएका छन् ।

बुधबार सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसंगको छलफलमा प्रमुख सचेतक लेखकले वर्तमान सरकारको बिकल्पमा नयाँ सरकार गठन गर्ने बिषयमा एमालेसंग कुनै ठोस छलफल नभएको बताएका हुन् ।

उनले अहिलेनै आफुहरु वर्तमान सत्तागठबन्धन भत्काउने पक्षमा नरहेको जिकिर गरे । साना दलहरु मिलेर सरकार बनाउदा पटक पटक परिवर्तन भइरहने अवस्थामा ठूला दलहरु मिलेर सरकार बनाउनु उपयुक्त हुने जनमानसमा धारणा उव्जिएको उनले बताए । राजनीतिमा वार्ता सम्वाद निरन्तर भइरहने भएपनि अहिलेको समिकरणलाई भत्काउन कांग्रेसले हतारो नगर्ने उनको भनाइ छ ।

त्यस्तै लेखकले सहकारी प्रकरणमा गृहमन्त्रीमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको धारणा राखे । संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका बिषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए ।

लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका बिषयलाई गम्भीरता नदेखाएको जिकिर गरे । उनले संसदलाई प्रभावकारी रुपमा अघि बढाउने दायित्व सरकारको भएको बताए ।