
शुक्रवार , बैशाख २८, २०८१
बुटवल, २८ वैशाख ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगतिबारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा पुगेका गिरीले कामलाई थप तीव्रता दिएर समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणका लागि आफूहरु तयार रहेको बताउँदै उनले प्रदेशको गौरवको अयोजनाका रुपमा रहेको योजनलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले निर्माण स्थलमा भएका प्रगति तथा अस्पतालको स्वास्थ्य सेवाबारे जानकारी गराएका थिए । स्वास्थ्य सेवालाई असर नपर्ने गरी आवश्यक तारबार तथा ध्वनी र वायु प्रदुषण कम भन्दा कम हुने गरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताए ।
१२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम सकेर सिट पाइलिङको काम भइरहेको निर्माण कम्पनीका इञ्जिजियर गोपेश निरौलाले जानकारी दिए । दिन र रातको समयमा समेत काम भइरहेको बताउँदै उनले दैनिक १० वटासम्म पाइलिङको काम भएको जानकारी दिए । संरचना निर्माणका लागि ६ सय बढी पाइलिङ गर्नुपर्ने बताइएको छ । ७५ जना जनशक्तिबाट तीव्रताका साथ काम भइरहेको बताउँदे उनले वर्खाअघि नै पाइलिङको काम सम्पन्न गरी असारपछि एक्साभेशन फाउण्डेशन (भवन निर्माणका लागि मूल जग खन्ने) काम सुरु हुने बताए । यस अन्तरगत डबल बेसमेन्ट (जमिनमुनी बनाइने दुई तला) सहितको मुख्य भवनका लागि ६ हजार ७ सय स्क्वायर मिटर फाउण्डेशन खनेर तयार पारिने उनले बताए ।
त्यस्तै अर्को भवन अन्कोलजी ब्लकका लागि १७ सय स्क्वायर मिटर फाउण्डेशन खनेर तयार पारिने उनले बताए । यो भवनमा भने सिंगल बेसमेन्ट मात्रै रहने डिजाइन रहेको निरौलाले जानकारी दिए । दुवै भवनका लागि बेस फाउण्डेशन (हात्तिपाइले जस्तै जगमा ढलाई गर्ने काम) सुरु गर्ने समयमा जनशक्ति दोब्बरले वृद्धि गरी कामलाई थप तीव्रता दिने तयारीमा रहेको निरौलाले बताए ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अस्पतालको भवन निर्माण अघि बढेको हो । आयोजना साइड इञ्जिनियर रमेश शर्माका अनुसार २ तला अन्डरग्राउण्ड (जमिनमूनी) हुने भएकाले कम्तिमा साढे ७ मिटर गहिरो जग खन्ने काम हुने छ । उक्त क्रममा पूरानो संरचना र वरीपरीका जमिनमा असर हुन नदिनका लागि २ वटा मेशिन ल्याएर ७ देखि १३ मिटरसम्म गहिरो पाइलिङको काम भइरहेको छ ।
११४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक संरचनासहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।
अस्पतालको डीपीआर अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहनेछ भने हेलिप्याडबाट सिधै आकस्मिक कक्ष (इमर्जेन्सी) मा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्ट समेत बन्नेछ ।
क्यान्सर उपचारका लागि भने अन्डरग्राउण्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एण्ड रिसर्च, प्रसुति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij