२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुद्रदेवीद्वारा तीनमहिने ‘डान्स वीथ हेल्थ फिटनेस क्याम्प’ सुरु

शनिवार , बैशाख २९, २०८१

भैरहवा, २९ वैशाख ।
रुद्रदेवी कला केन्द्र सिद्धार्थनगर–७, भैरहवा, रुपन्देहीले तीनमहिने ‘डान्स वीथ हेल्थ फिटनेस क्याम्प’–२०८१ सुरु गरेको छ । शुक्रबार (हिजो) देखि सुरु भएको उक्त क्याम्प तीन महिनासम्म सञ्चालन हुने रुद्रदेवी कला केन्द्रले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कला केन्द्रका सञ्चालक (प्रोप्राइटर) सुनिल गुप्ताका अनुसार क्याम्पमा सहभागी हुनेले ३ महिनाको रु. ३ सय शुल्क बुझाउनुपर्नेछ । ‘यो कार्यक्रममा गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा ५ हजार जनालाई तालिम दिने लक्ष्य राखिएको छ । जसमा खानपान, रहनसहनका बारेमा टिप्स, ग्यारेण्टीका साथ वजन कम गर्ने टिप्स, शरीरलाई फिट राख्ने कार्य, कोलेष्ट्रोल कन्ट्रोल, मोटिभेट, कन्फीडेन्स् पावर बढाउने, बलियो कसरी हुने जस्ता कुराहरु सिकाइनेछ, ’उनले भने ।

हरेक हप्ताको १ घण्टा नेपालभरीका सबै उमेर समूहका व्यक्तिहरु कार्यक्रम (क्याम्प) मा सहभागी हुन सक्ने गुप्ताले बताए । विद्यालय तथा क्याम्पसका विद्यार्थी, युवा, अभिभावक, विभिन्न सामाजिक संघ–संस्था, सञ्चार क्षेत्र, कलाकारलगाय पनि सहभागी हुन सक्ने उनले बताए । उनले भने, ‘प्रत्येक हप्ताको एक दिन तालिम (शुक्रबार वा शनिबार बिहान÷साँझ) सञ्चालन हुनेछ । एक महिनामा ४ दिन गरी ३ महिनामा १२ दिन कार्यक्रम सञ्चालन हुनेछ ।  ’ यसका साथै डिप्लोमा डान्स कोर्समा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । 

कार्यक्रमलाई रुद्रदेवी फ्रेण्डस् क्लब भैरहवा, सिद्धार्थनगर, रुपन्देहीले सहयोग गरेको छ । रुद्रदेवी फ्रेण्डस् क्लबका अध्यक्ष विष्णु आचार्यले क्लबको तर्फबाट सामूदायिक विद्यालयका १ सय जना विद्यार्थीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिएको जानकारी दिए । अध्यक्ष आचार्यले तनाव व्यवस्थापन गर्न कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।  उनले यो क्लब गठन भएको ७–८ महिना पुगेको जानकारी दिए ।

प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । उनले रुद्रदेवी कला केन्द्रले डान्सका लागि प्लेटफर्म उपलब्ध गराउँदै आएको बताए । टंकनाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित नारायणपथमा २०७३ सालमा स्थापना भएको रुद्रदेवी कला केन्द्रको आठौं वर्षमा प्रवेश गरेको छ ।