
शनिवार , बैशाख २९, २०८१
भैरहवा, २९ वैशाख ।
मिस नेपाल २०२४ को भैरहवामा अडिसन आइतबार (भोलि) हुने भएको छ । आयोजक द हिडन ट्रेजरले शुक्रबार पत्रकार सम्मेलन गरी अडिसन २०८१ वैशाख ३० गते आइतबार बिहान साढे ९ बजेदेखि भैरहवास्थित सिद्धार्थ भिलासामा हुने जानकारी गराएको छ ।
नेक्सट रिभुलोसन मिस वेस्टर्न नेपालका क्षेत्रीय संयोजक राजीव खनालले अडिसन अघि शनिबार दिउँसो ३ बजे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताए । खनालका अनुसार अभिमुखीकरणमा युवतीसँगै अभिभावकहरु प्नि सहभागी हुन सक्नेछन् । प्रतियोगितालाई फराकिलो बनाउँदै यसपटक मिस नेपान प्रतियोगिताका लागि सहभागीहरुको खोजी विर्तामोड, इटहरी, वीरगंज, चितवन, भैरहवा, नेपालगंज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न शहरमा हुने उनले बताए । उनले भने, ‘मिस नेपाल भन्नेबित्तिकै डर देखाइन्छ, भाषाका कुरामा पनि डर देखाइन्छ । अंग्रेजी भाषा हो । जान्नु राम्रो कुरा हो । तर, नजान्दैमा म पछाडी छु भनेर सोच्नु हुँदैन ।’
द हिडन ट्रेजरका निर्देशक (डाईरेक्टर) गिरेन्द्र मान राजवंशीले मिस नेपाल २०२४ प्रतियोगिताको लागि इच्छुक नेपाली युवतीहरुले २०८१ जेठ १ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए । ‘यस वर्ष २०२४ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित युवतीले नेपाली नागरिकतासहित आवेदन दिन सक्नेछन् । प्लस टु उत्तीर्ण हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन आवेदनको कुनै शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशल रहनेछन्, ’उनले भने । प्रतियोगिताको फाइनल अडिसन जेठ ५ गते काठमाडौंमा हुने उनले जानकारी दिए । उनका अनुसार यहाँबाट छानिएका प्रतियोगीहरुले ग्राण्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् । थप जानकारीका लागि र मिस नेवाल २०२४ को आवेदन दिन डब्लु डब्लु डब्लु डट मिस नेपाल डट कम डट एनपी वा मिस नेपाल एपमा लग इन गर्न सकिने उनले जानकारी दिए । मिस नेपाल २०२४ को ग्राण्ड फिनाले २०८१ साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा सहभागी मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्काले भैरहवाबाट धेरै सहभागी छनौट हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु गर्वको कुरा हो । ’
त्यस्तै मिस नेपाल अर्थ २०२३ रैना मजगैयाले नेपाललाई चिनाउन पाएकोमा गर्वको अनुभुति भएको बताइन् । उनले मिस नेपालमा सहभागी हुँदा पेशा छोड्न नपर्ने स्पष्ट पारिन ।
द हिडन ट्रेजरका निर्देशक प्रमोद कसांकारले एक हप्ता सिनेमा हलमा पनि प्रतियोगिताको प्रोमा बजाइएको जानकारी दिए । उनले अभिमुखीकरण कार्यक्रममा प्रतियोगीसँगै अभिभावक पनि सहभागी हुन सक्ने जानकारी दिए ।
यस वर्षको मिस नेपाल प्रतियोगिताको मुख्य प्रायोजक डाबर वाटिका रहेको छ । त्यस्तै गाल्डार्मा सेटाफिल र वात्सल्य आईभीएफ सह–प्रायोजक रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij