
शनिवार , बैशाख २९, २०८१
भैरहवा, २९ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् सदस्य विद्या प्रसाद यादवले उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नैपालमै आफूहरु एकताबद्ध रहेको बताएका छन् । उनले पार्टी विभाजनको औचित्य नभएको बताए ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष समेत रहेका यादवले पार्टीलाई थप मजबुत बनाउनपर्नेमा जोड दिए । खबरपात्रोसँग कुराकानी गर्दै उनले भने, ‘संघीयतालाई अझ मजबुत बनाउनुपर्छ । विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्छ । जसपालाई अझ मजबुत बनाउनुपर्छ ।’ शहीदहरुको सपनालाई साकार पार्न एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मुलुकमा भएको विभिन्न परिवर्तनमा जसपाको महत्वपूर्ण भूमिका छ ।’
जसपा, नेपालका बहुमत केन्द्रीय सदस्यहरु दलप्रति प्रतिवद्ध रहेको उनले दावी गरे । रुपन्देही जिल्लामा रहेका केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य, प्रदेश समिति सदस्य एवं जनवर्गीय संगठनका समितिहरु आफूहरुको साथमा रहेको उनले दावी गरे ।
अवैधानिक रुपमा नयाँ दल दर्ता भएकोले जसपा नेपालको केन्द्रीय समितिको निर्णयअनुसार सर्वोच्च अदालतमा कानूनी कारवाहीको लागि मुद्दा प्रक्रियामा जाने र अदालतको आदेश आफूहरुको पक्षमा आउनेमा विश्वस्त रहेको उनले बताए । ‘अदालतको फैसला हाम्रो पक्षमा आएमा, कसैको बहकाव, लोभलालच एवं अन्य कुनै कारणले कुनै पनि निर्वाचित जनप्रतिनिधिहरु सचेत रहन पनि आव्हान गर्दछौं, उनले भने ।
जसपा नेपाल उत्पीडित समुदायमाथि हुँदै आएको शोषण, दमन र विभेदको विरोधमा मधेश जनविद्रोह, थरुहट आन्दोलन, मुस्लिम आन्दोलन, दलित र महिला आन्दोलन लगायत आदिवासी जनजाती/शोषित खसआर्य आन्दोलनको जगमा जन्मिएको पार्टी भएको अध्यक्ष यादवको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij